साइनो बेच्ने केटी
राम्ले कारागार इजरायल
प्रिय आविया,
तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाइ बहकाउने कोशिश। तर जे भन आविया, केही दिनयता मलाइ यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …
पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरी च्यात्छ । उसलाई किन के भै रहेको छ ? के उ आवियालाइ प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानुनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा उ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?
दुइ महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरी आज अचानक यो कस्तो अनुभूति उ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो? त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाइ यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे - जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ उ । उसले सोच्यो -अहिले केही भन्दिन ।
तेश्रो पटक हो उ पक्राउ परेको …… जेलमा छदा कस्ता कस्ता भावनाहरुले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला विकल्पहरु पनि अनेकौं थिए । त्यस्तै विकल्पहरु मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पुर्व नै संगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशी संग प्रेम सम्बन्ध रह्यो भने उसलाई आकस्मिक भिषा दिईने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केयेरटेकरको भन्दा तेब्बर सम्म हुन्थ्यो ।तर उनीहरु साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो । त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरुको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।
आज पनि उसले यसै गर्नु पर्नेछ ।
फागु पुर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरि रहेछ उ। काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबीरहरुको स्मृतिभित्र केहीबेर उ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ विदाको दिन कति रमाइलो भयो होला ?
होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरु वसन्त ऋतु आगमनका संकेतहरु हुन् । होली रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरुको नक्कल गरेर शहर डुल्ने । विशेष गरि केटाकेटी असाधारण र अनौठो फेशन गर्छन । पोहोर साल आवियाको भाइलाइ उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफुले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरुको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।
बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुन्द्रको छालमा तैरनु, बालुवामा उत्तानो पल्टनु वा जिउभरि डेड सीको माटो दलेर ढाड सेकाउनु । आविया संग डेड सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।
धेरै निम्ताहरु व्यस्तताको कारण देखाएर आफै बदर गरि दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आविया संगै बिताएका दिनहरु त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरु, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिई रहेको छ ।
सम्झाैता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासंग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो - मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरु पनि धेरै भएका थिए ।
बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो
। आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक बर्षमात्रै हजारौं डलर बुझाइ सकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयर गिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या । जेल बाहिर निस्केपछि भने भोली पल्टै यो सबै बिसंथ्र्यो उ । अरु त सबै आनन्दले बसेकै छन दिनभरी तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि या उ आफै अलि जोगिने कोशिश नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ ।
किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुइ चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानुन ? यस्तो लाग्छ उ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ ।
मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने । अन्ततः आज एक महिना दुइ हप्तापछि उसले आफुलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ? आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेति गर्ने देशमा किन मान्य हुन्थ्यो ?
फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्ट सम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ उसंग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन - हामी प्रेमीप्रेमिका थियौं ।
"पागल" शिर्षकको कथा
डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र बगैचाका छरपष्ट दृश्यहरुको बाक्लो स्मृति मनभरी फैलिई रहन्थे । हो, त्यो म थिएँ, र कुनै अस्तव्यस्त केयरगिभर, कुनै बिरामी, कुनै बेड ......... ।
लाग्थ्यो उ दौडिरहेको छ मरुभूमिको कुनै दौड - समयको बगर बगर ... किनारै किनार । खुसीका उज्याला रंगहरु अनि जीवनका शुक्लपक्षहरु चटक्कै बिर्सेर एकोहोरो कुनै युद्ध जित्ने धुनमा लागे जस्तो, यदि उ यो वालुवाको शहरमा कतै हरायो भने मेरा प्यारा मित्रहरु! "आइ एम एक्सट्रीम्ली सरी !" भर्खरै उसले डायरीको पातो कतै टाँसेको छ । "म संग हिड्नै पर्ने अरु धेरै यात्राहरु छन, र जित्नै पर्ने युद्धहरु" । उसका अधिकांश प्रेमपत्रहरुमा पनि यिनै शव्दहरु दिक्क लाग्ने गरि दोहोरिएका हुन्थे ।
फेसबुक वा ब्लगका भने कुनै डेडलाइन थिएनन..., जहिले अपडेट गर्दा पनि हुने, गर्दै नगर्दा पनि हुने- स्वतन्त्र र यो स्वतन्त्रताको उपयोग गर्न उसलाई औधि मन पर्थ्यो । त्यसो त ऐच्छिक बिषय समेत कालान्तरमा अनिवार्य बन्दै गएका उदाहरणहरु पनि थिए जस्तो - पत्रिका प्रकाशन, जसको आफ्नै समय सिमा निर्धारित हुदै गयो। मनका भावना र तरंगहरु सबै सामु बाडेर आफुलाई हल्का बनाउने अनेकौं उपायहरु थिए- भित्ताहरु, पर्खालहरु, इन्टरनेटका सामाजिक संजालहरु, तर ती बिषयहरुले नै उसका दैनिकीलाई अझ बिथोलेको अनुभव हुनुको कारण के होला?
हरेक दिनहरु र सांझहरु अनियमित भए झैं लागिरहन्थ्यो । आफ्नै मानसिक थकाइले हो या कार्यव्यस्तताले ? बेचैनी बढ्न थालेपछि पिउनु, काखेमा हराउनु वा कहाँ कसले के लेखेछ भनेर चियाउनु या मुभी हेर्नु बाहेक खासै गतिलो विकल्प थिएन ।
अँ धेरै पहिले एकजना योगा मास्टर संग भेट्दा उनले भनेको याद आयो - हरेक बिहान ५ मिनट योगा र २० मिनट कार्डियोका लागि समय निकाल, बस सम्पूर्ण तनाव आफ से आफ हराउदै गएको महशुश गर्नेछौ । "उफ त्यति पनि राम्ररी म्यानेज गर्न सकिरहेको छैन" उ अझ चिन्तित भयो । कहिले काहीं समयले उसलाई र उसको दिनचर्यालाई नियन्त्रण गरे जस्तो लाग्थ्यो त कहिले भुतकाल बाहेक वर्तमान र भविष्यका सम्पूर्ण घटना र प्रकरणहरुलाई आफैले सम्हाल्न सक्छु भन्ने दरिलो आत्म विश्वाश पनि पलाउथ्यो । धेरै कुरा बुझ्न गाह्रो भैरहेको थियो के सबैलाई यस्तै हुन्छ त ?
भर्खरै उसलाई लाग्यो उसले "उ" भनेर सम्बोधन गरेको मान्छे उ आफै हो। आफु" अर्थात "म" । कहिले काही यस्तै हुन्छ । जब आफुले आफुलाई देखिन्छ - "केहि लेखिरहेको, कतै गैरहेको, केहि बोलिरहेको" । देख्ने र देखिने मान्छे दुवै आफै हुदा कसलाई के भनेर सम्बोधन गर्ने ? प्रत्येक ससाना बिषयहरु किन यस्तो जटिल बन्दै गएका ? त्यसोभए आफुलाई "म" भनेर लेख्दा के फरक पर्छ र?
चिन्तित हुदै पत्रिकाका सम्पादक सहकर्मी र घनिष्ट मित्र हरिजीले सोधे - तपाईलाई के भैरहेको छ हँ कृष्णजी ? सामाजिक संस्थाका मिटिंगहरुमा पनि उपस्थिति पातलो हुदै गएको छ, आफैले संचालन गर्नु पर्ने कार्यक्रमको जिम्मेवारी पन्छाएर फुर्सदै नभएको बहाना गर्दै कता भौतारी रहनु भएको छ ? हिजो साँझ अबेरसम्म भूमध्यसागरको किनारै किनार डुल्दै हुन्नु हुन्थ्यो । कहिले डकुमेन्ट्री बनाउने भन्दै डरलाग्दा सिमेट्रि(चिहान)का पहाडहरु खिच्दै हिड्नु हुन्छ रे ? तेल अभिभका शहरमा भत्किएका पर्खाल भरि पेन्ट गरि हिड्ने भित्ते कलाकारहरु संग मिलेर सघाउन पनि थाल्नु भएको भन्ने सुनिन्छ । ब्लग अपडेट नभएको पनि एक महिना ज्यादा भै सक्यो ।
हँ कसले सुनाएछ उहाँलाई यस्ता कुरा ? यस्तो व्यस्ततामा म कहिले समुद्र गएँ हुला ?अझ मशान........? कामै नभए जस्तो वाल पेंटिंग गर्नेको पछि किन लाग्थें ?
यो कस्तो चक्कर ? यी सबै सोधाइ र मेरो अवस्था घनचक्करमा पहिले कतै छापिए जस्तो लाग्न थाल्यो । हैन हैन - छाल, बगर,बीच भलिबल,बार्बिक्युको धुँवा ........ अलिकति सम्झना भएं झैं भयो । ए त्यो त अरु नै कोही थियो, समुद्र कहाँ छ भनेर सोधेपछि मैले बाटो देखाई दिएको मात्र थिएँ ।
हो त्यसदिन उ धेरैबेर बगरतिर बरालिएकै हो, कहिले काही यसरी बरालिदा सम्पूर्ण थकाइ मेटिए जस्तो हुन्थ्यो रे - उसको धारणा । कतै म पनि उसंगै किनार किनार हिड्दै त थिईन? हो उ कसैसंग कुरा गर्दै थियो, शायद त्यो म नै थिएँ, हुनसक्थ्यो हामी मशानतिर पनि संगै थियौं - खै प्रष्ट सम्झना भएन । आ, थिएँ भने पनि के भो त ? म मात्र जान्थें र त्यसरी घुम्न ? एक एक गर्दै सम्झनाका चांगहरु अटेसमटेस गरि सल्बलाउन थाले । रंग, कुची, भित्ता, क्यानभास, सिंगमरमर, चिहान... खुलिएझै ती चित्रहरु किन अस्पष्ट देखिएका ?
अलिकति बेचैन मनलाई सान्त्वना दिन गीत गुनगुनाउनु, कतै घुम्न निस्कनु वा कतै केही लेख्नु पोख्नु वा कोर्नु ... पक्कै अस्वाभाविक हैन । त्यसै पनि दिनहरु कुनै नियमबद्धतामा बाधिएका छैनन् आजकल । त्यसो भयो भन्दैमा यसरी अफवाह र हल्ला फैलाउदै हिड्नु कति सम्म जायज हो ? परिस्थिति संगै मान्छेका रुचिहरुमा अनेकौं परिवर्तन आउछन, यतिखेर मेरा रुचिहरु पनि बदलिएका छन भनेर नबुझेपछि कसको के लाग्छ ?
चिठी पत्र, संदेश र गफगाफ भित्ताभरि सोहोरेर काखे टेबलमा मुस्काई रहेको छ । भेटघाट र छलफलमा सहभागिताको निम्तो छ , पढ्न भनेर ट्याग गरिएका लेख रचनाका ओइरो लागेका छन । ह्विस्कीको पेग र सिगरेटको धुँवामा धमिलिएको यो रंगिन साँझ, म प्रति फैलिएका अफवाह र भ्रमहरु गलत साबित गर्न तम्सिएको छ, जो मलाइ भनिरहेछ --अब फेरी केही लेख्नु पर्छ, मिटिङहरुमा उपस्थिति जनाउनु पर्छ , पत्रिका समयमा निकाल्नु पर्छ, वेवसाइट अपडेट गर्नु पर्छ, अब सबै व्यवस्था मिलाउनु पर्छ, परिस्थिति संगको अभ्यस्तता नै जीवनको कला हो । तर त्यो कला सिक्ने कसरी?
सम्हालिएर एउटा गज़ल लेख्न बस्छु ३ खिल्लि सिध्याएर २/४ हरफ केरकार पारेपछि एउटा गज़ल तयार हुन्छ ...
क्षितिजमा गोधुली यो, साँझ डुबेजस्तो
किन उदास छ समय, जहाज डुबेजस्तो
अस्तव्यस्त सधै सधै, कुन्नि केको हतार ?
कतैतिर मुख्य काम, काज डुबेजस्तो
हिजो फर्कंदैन केहो, थाहा छैन भोली
यहि वर्तमान पनि आज डुबेजस्तो
पराजित सिपाहीझैं, यौटा राजा आयो
दर्बार संगै मानौं उस्को, ताज डुबेजस्तो
कृष्णपक्ष अँध्यारोमा रुमलिँदै थियो
खोल्न नपाइ उज्यालोको, राज डुबेजस्तो
तन्मयतालाइ भंग गर्दै एउटा मिठो गीत छेउमा उसैगरि गुन्जिरहेको छ
"हुँ यात्री एउटा रुमल्लिई हिड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा ......
नया बर्षको कामना यसरी...
वौद्ध धर्म र जेन परम्पराको प्रभाव तान्काको आत्मा हो । चौधौं शाताव्दी लामो इतिहास बोकेको यो कविताको लोकप्रियताको कसी मानयोशु काव्य संकलनलाइ लिन सकिन्छ, यद्यपि आजपनि यसको चेतना प्रभाव, शक्ति र क्षमताप्रति उत्तिकै विश्वाश छ । नया बर्षको शुभकामना दिने केहि पृथकपनाको खोजि गर्दै म हज्जारौं बर्ष पछाडी फर्किएको छु, "साहित्यको सिमा हुदैन, यो कुनै देशको पनि हुदैन त्यसैले यतिखेर तान्का यहाँ मेरो भएको छ" । कसको/के विधा भित्र्याइस हँ भनेर औंला उठाउनेहरुलाई मेरो रेडिमेड जवाफ । यो तांका कामना हो नया बर्षको, यसको सौन्दर्य जस्तो सुकै देखिए पनि, शास्त्रीय संरचना भित्र लेखिएका यी हरफहरुको प्रभाव सबैको मन मस्तिष्कमा पुगोस र ऋचामन्त्र झैं अनुभूत र ग्रहण होस् ।
यसरी शुरु हुन्छ ....
ए प्रमिथस!
धपक्क भइ केहि
उदायो हेर
अब तिमी खोज्नेछौ
अग्नी हैन उज्यालो ।
फेसबुक र फेरि अर्को विलयन
फेसबुकको एउटा संयुक्त कविताको समिक्षा यसपालीको मेरो टासोमा परेको छ । विषयवस्तुमा खासै नौलोपन नभएपनि पत्रिका प्रकाशन गरिदा फेसबुककै रुपरंग मिसाएर प्रस्तुत गरिएको यसको स्वरूप चाहि रमाइलो छ :) चित्रमा थिच्नु होला ।
कहिले त मिठो वास्तविकता नै हो कि जस्तो आभास हुने । इन्टरनेटको सामाजिक संजालमा दिनदिनै अनेकौं लेख रचना तस्वीरहरु, टासिन्छन , गफगाफका प्रत्यक्ष प्रसारण हुन्छ्न वा सबैकुरा "लाइभ" । पढदा पढ्दै कहिलेकाही चिसो सिरेटो जस्तो स्वप्नभंगको सानो तर नमिठो झोंक्काले हानेर जान्छ , नमिठो यसकारण जसले चेतनाको तारमा यो यावत् सम्बन्ध र सामिप्यता भ्रम मात्र भएको बोध गराउछ । यस्तै डिजिटल मेडियाको संजाल चहार्दै हिड्ने केही सृजनशील मनहरुको एउटा हुल नै त्यहाँ थियो , जसले निरन्तर केही न केही लेखिरहन्थ्यो, टासिरहन्थ्यो र शव्द साहित्यको झंकार सन्सार भरि गुन्जने गरि चेतनाको बिगुल फुकी रहन्थ्यो । त्यही कुरा आजको यो बसिबियालोमा ।
हो म फेसबुकको कुरा गर्दैछु, सोसल नेटवर्किंग साइटहरुमा अत्यन्त लोकप्रिय र प्रभावकारी यो संजालमा जेलिदै धेरै नया नया मित्रहरु संग परिचय बढेका छन । परिचयको लश्कर कति हो कति बढेको बढयै गर्छ, लहरो तान्दा पहरो थर्केजस्तो तर ती मध्ये केही यस्ता परीचयहरु छन, जसले शाव्दिक चेतनाका रंगहरु भर्छन, " नोट " भनेर लेखिएको क्यानभासमा,अनि परिवर्तन शान्ति र प्रगतिका आकृतिहरु कोर्छन । अर्थात साहित्यक स्रष्टाहरु जो डिजिटल चौतारीमा भेला हुन्छन र पोख्छन आफ्ना भावनाहरु ।
स्पष्ट दिशानिर्देश लिन नसकी आजको राजनीति अराजक र विसंगतपूर्ण अँध्यारोले गाँजिएको महशुश गर्दै स्टाटसमै बिरोधको आवाज उराल्ने, देश बिझेका पिडाहरु अभिव्यक्त गर्ने धेरै मित्रहरु छन यहाँ , तर लेखको प्रसंग काव्यिक प्रवाहतिर मोद्छु र त्यही प्रवाहमा हेलिएको गतिमान नाउहरुको चर्चा गर्दैछु यतिखेर, यो चर्चा उनीहरुले गरेको विलयन लेखन र प्रयोगको सन्दर्भमा छ ।
भर्खरै एक दिन "सगरमाथा खोज्दै निस्केको बिहान !" सयुँक्त कविता पढ़िसके पछि मलाइ आगोको मुर्छ्नाको स्मरण भयो । यो बहुस्रष्टा कृत सिङ्गो कृति हो, जुन प्रयोगलाई विलयन भनेर नाम दिइएको थियो । प्रसंग उस्तै भएर दोहोरियो, तर यो विलयनमा देश छाडेर परदेशिएका प्रवासका स्रष्टाहरु एक अर्कामा विलय भएका छन र नया रंग बनाउदै । चेतनाको आगो बालेर कहिल्यै नथाक्ने प्रतिभाशाली नामहरु हुन् यी ।
अशोक पार्थिव,
वलदेव बिहानी,
चुम लिम्बु,
समदर्शी काइँला
धेरै प्रगतिशील सर्जकहरु यौटै धार, यौटै प्रकार र सधै यौटै प्रकृतिको चिन्तनमा कला र सौन्दर्यको रंग फिका भएको महशुश गर्छन र नया प्रयोग भित्र्याउछन लेखनमा । अनेकौं बिम्बहरूसंग खेल्दा खेल्दै संरचनालाइ नै केही नया रुप दिएर प्रभावकारी संदेश प्रसारण गर्न सकिन्छ कि भन्ने सोच नै यस्तो प्रयोगको आधार हो। विलयन लेखन यस्तै प्रयोग हो जसले पृथक कवि मनहरु एकै ठाउमा प्रस्तुत हुन्छन र कविता लेख्छन । यौटै क्यानभासमा यसरी उभिदा देखिने फरक रंगहरुको सार्थक मिश्रणद्वारा पाठकहरुमा सौन्दर्य बोध गराउनु यसको समुल विशेषता हो । साथै यसले आफैमा एकता र आत्मियताको संदेश पनि बोकेको हुन्छ ।
कवितालाई कल्पना र अलंकारिक रंगहरुले रंगाउनु जति जरुरि छः सामयिक र यथार्थपरक बनाउनु पनि त्यतिकै अनिवार्य छ । व्यक्ति देश र समाज अनि सामाजिक दुरावस्था, पिडा वा समस्या लाइ रत्तिभर प्रतिनिधि नगर्ने कोरा रचना जति नै कलात्मक भए पनि फिका देखिन्छ । केवल कल्पनामै हराउने गतिहीन शैलीलाइ विद्रोह चेतनाको लहरले पाखा लगाउदै आएको छ र यस्तो चेतनशील लेखन युगान्तकारी र कालजयी हुन्छ ।
चौंरीका बथान
जीवन उत्थानको गोठमा
युगिन निम्छरा भोगाईहरु नियाल्दै बस्दा
सगरमाथाको धुमिल बर्को
कुन चैतमासको हुरीले उडाएर लग्यो
सोधदैछन अरुण र तमोरका छलांगमय सुसेलीहरु ।
सिर्जनशील र फरक सोचले प्रेरित भएर साहसिक सर्जकहरुले कोरेका जति पनि नया धारहरु छन तीनलाई उत्तर आधुनिक संरचना भन्दा भिन्न राखेर व्याख्या गर्नु युक्तिसंगत नहुने मेरो तर्क छ । यद्यपि तीनका निश्चित मापहरु होलान तर ती परम्परागत शैलीका अभ्यस्ततालाइ कुल्चेर समयको सुदुर क्षितिज उघार्ने चेतनाहरु हुन् । समय हिजोको प्रविधिमा आफैं पनि रोकिदैन यसर्थ अबका कविताहरुले सामयिक हुनैपर्छ ।
यसबेला यिनै चार सर्जक हरु सगरमाथा छुन उद्यत् प्रवाहको यौटा विहान कोरिरहेका छन । र संयुक्त कविता लेखिरहेछ्न । भेटघाट यहि डिजिटल चौतारीको हो । तर परीचय मानौं धेरै पुरानो छ यो सम्बन्धको । संयुक्त लेखनको यो कविताले फेसबुकको मझेरीमात्र रंगाएको छैन यसले नेपाली साहित्यमा यौटा नौलो संदेश र परिवर्तनको घन्टी बजाएको महशुश कविता पढेपछि हुन्छ । कविताले घचघच्याएको छ निरिह समयलाई । चिन्ता छ परिवर्तन बिरोधी तत्वहरुको ।
सगरमाथाको मसि
कुन हिउदको सिरेटोले
पातलो बनायो ?
जिज्ञासायुक्त बिम्बको शसक्त आरोह संगै आरम्भ भएको कविताको ओज घनिभूत हुदै जान्छ र पाठक मन अझ आतुर हुन्छ भावको गहिराइमा डुब्न । अनि टक्क अडिन्छ ... देश र समाज दुखेको महशुश गर्छ ....जब उ यहानेर पुग्छ ।
कुन पटाक्षेपमा गएर भासियो
सोध्न चाहन्छन टिस्टा र काँगडामा कुदिएका
हाम्रा सिमा स्तम्भहरु ।
देशलाई छातीभित्र राखेर प्रवासिएको नेपालि मन यहानेर भरिन्छ देशको मायाले । चारै सर्जक संग घर छाड्नुको नमिठो अनुभूति छ, र समभाव पोखिएको छ कवितामा । यो स्थितिले सबैलाई पिरलेको छ सिमा मिचिनु वा अझै पनि असुरक्षित हुनुको आशंका हो यो । यस्तो पिडादायी अनुभूति एउटा देशको हरेक स्वाभिमानी नागरिकमा हुनु पर्छ । हिउन्जस्तै संग्लो देशप्रेमको काव्यिक अनुभूति संग पग्लदा पग्लदै पाठक अब त्यस्तो खण्डमा आइपुग्छ जहाँ सबै भावना मूर्तपनाहरु, आकारहरु, बिचारको सघन अमूर्ततातिर, गहिराईतिर वा रहस्यतिर या भनुँ कविताको क्लाइमेक्सतिर अभिमुख भएझैं महशुश हुन्छ ।
अब काव्यिक प्रवाहले कविताको शृंगार र बिम्बको जादुमा मोहित भैरहने पाठक स्वाभावको मोहभंग गर्छ र ध्यानाकर्षण गराउँछ । यथास्थितिमा फर्काउँछ र ठिंग उभ्याइदिन्छ कतै अग्लो पहाडको नजिक .........तर फेदैमा । यद्यपि यसले निराशा बोल्दैन । अनेक अर्थ र प्रयोग हरु हुन्छन रंगमा । यहानेर रङ्गै रंगका भिरहरु भत्किएको पनि देखिन्छ । घात स्पष्ट देखिनेगरी कुनै कुचिकार चेतनाको रंग भर्न थाल्छ र पाठकलाई वौद्धिक बिचार लिएर सम्पूर्ण क्यानभास रंग र भाव पुन पढन आग्रह गर्छ । यहानेर बहुरंगवादको छाया स्पष्ट देखिन्छ।कहिले छर्लंग बुझेजस्तो, कहिले केवल शाव्दिक पहिरो मात्र अनुभूत हुने गरि ठ्याक्कै नबुझिने अन्तिम धर्काहरु कोरेको छ । अभिव्यक्तिको क्लिष्ट मोडमा काव्यको अन्त्य हुनुले पाठकलाई रचनामा कहीं अल्झन र सो बिषयमा घोरिएर आफ्नो अर्थ लगाउन बाध्य बनाउछ ।
यसर्थ आजकल म सगरमाथा बाँचिरहेछु
एन्द्रिक रंगिताको बोधमा
अर्थकुल निर्निमेष हेरिरहेछु क्षितिजलाई
सगरमाथा खोज्दै निस्केको बिहान ।
शव्दहरुको सरलीकृत संरचनामा मात्र काव्यबोध हुने परम्परा नितान्त फेल भैसक्यो । आजको साहित्यले पाठकलाई सोचमग्न बनाउछ र वौद्धिकताको अपेक्षा गर्छ साथै यदाकदा अनिश्चय वा भ्रान्तिको पनि सिर्जना गर्छ तर यहि बुझाइ वा अबुझाइको अवस्थामा अनुभूत हुने काव्यचेत नै यसको सौन्दर्य हो । प्रत्येक व्यक्तिका आफ्नो दृष्टिकोण र दर्शन हुन्छन र काव्यलाइ पनि आफ्नो अनुरुप बुझ्न तपाइँ स्वतन्त्र हुनुहुन्छ । मानौं मोनालिसाको तस्विर पढे जस्तै ।
विगतको प्रगतिशील समसामयिक शैलीमा रमाएको काव्यक्षेत्रमा नया नया धारहरु पलाउदै गए । प्रयोग र संरचनामा नविनतम बांकिहरुको खोजि गर्न सर्जक हरु उत्साहित हुदै गए र नेपालि साहित्यमा जन्मियो वहुरंगवाद, मुक्तलेखन, अश्रृन्गार , चक्रव्यूह सचेतना, लीलालेखन अर्थात सृजनशील अराजकता जस्ता अनेकौं नाम, वाद वा प्रयोगहरु । ती प्रयोग आफैमा लहड वा रौसमात्र थिएनन साहित्यिक आयामका नया पाइलाहरु थिए, त्यसरी नै फेसबुकका पर्खाल र कान्ला कान्ला दगुर्दैछ्न एक हुल युवाहरु चेतनाको राँको बोकेर,
सगरमाथाको उचाई चुम्न ।
ती पाइलाहरुलाई सलाम ....!
दुइ थान गज़ल
व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटेको हुनसक्छ यद्यपि यस्तो अवस्थामा केहि कोर्ने अवसर जुटाउन नसक्नु,मित्ररु संग अपडेटेड हुन कठिन हुनु, भावना र अनुभूतिका झिल्काहरुले उज्यालोको कुनै मुर्त आकार लिन नसक्नु मेरो लागि दुखद पक्ष बनेका छन । अस्तव्यस्त दिनचर्या सहज नबनाई भएकै छैन । किस्ता किस्ता बाडिएका फुर्सद हरुलाई तानतुन गरेर एक ढिक्का बनाउने र स्थिति सहज बनाउने प्रयास भने जारी छ (पहिले जस्तै :) धेरै पछि आज प्रेम र सौन्दर्यका दुइ थान गज़ल लिएर आएको छु - सुनाउन । लौ सुनेर जानुस!
पहिलो
बस्यौ बाटो हेरि, र त जुध्यो नज़र ।
फर्किएँ म फेरि, र त जुध्यो नज़र
ओठै नखोलेर, इशाराले बोल्ने
रैछौ माया मेरी, र त जुध्यो नज़र ।
नदेखेझैं गर्दै, मेरै बाटो तिर
चियाउदा खेरि, र त जुध्यो नज़र ।
मलाइ नै पर्ख्यौ बाटो घाटो मेला
कुवा र पधेरी, र त जुध्यो नजर ।
बसिरहुँ भन्छ हजुरकै सामु
आँखै यो अटेरी,र त जुध्यो नजर ।
दोश्रो
उपवन मनको मेरो डुल्न आउनु भयो
फूलजस्तै मुस्काउदै फुल्न आउनु भयो ।
शर्माएर पहिले पहिले, पर जानु हुन्थ्यो
अहिले पो यी यस्तरी, खुल्न आउनु भयो ।
कति कति हासो खुसि, सुख दुख कति
एकै छिन सारासंसार, भुल्न आउनु भयो ।
वादल पारि पिरतीको, घर देखाउदै
कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।
वसन्त झैं रंगिन यो, मेरो यौवनमा
वहारको रंग लिई, घुल्न आउनु भयो ।
सय दियोहरु बलेको साँझ
हातको मैला सनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले
आज धेरै मुनाहरु यसो भन्दैनन, समय बदलिएको छ । समयसंगै मुना मदन र ल्हासाहरु बद्लिई रहेका छन । नेपाली साहित्यका चम्किला तारा महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो वर्ष सैयौं जन्मजयन्ति परेको छ । लक्ष्मी पुजाको साँझ हामीले सय दियोहरु बालेर उनको सम्झना गर्यौं ।
प्रवास अनि व्यस्तता ...। हामी मध्ये उस्तो साहित्यकर्मी वा श्रष्टा त कोही पनि छैनौं होला शायद , तथापि नेपाली भाषा साहित्य कला र संस्कृतिसंगको आत्मियताले जानेर वा नजानेर धेरै मनहरुलाई यो प्रवासमा कवि बनाएको छ, कथाकार बनाएको छ र फुर्सद हुने बित्तिकै आफ्नो भावनाहरु, पीडाहरु पोख्न घर सम्झेर केहि लेख्न उत्प्रेरित गरेको छ । अनि यस्तै मन मिल्ने केहि मनहरुको यौटा मण्डली तयार भएको छ जसलाई हामीले साहित्य समाज भनेर नाम राखेका छौं ।
देवकोटा शतवार्षिकीको यो विशेष अवसरमा अन्य कुनै पनि संघ संस्थासंग आवद्ध नरही आफ्नै साहित्यिक पत्रिका निकाल्ने सपना पनि पुरा गरेका छौं । अर्थात हामीले "मेरो नेपाल" को प्रारम्भ गर्यौं। मेरो नेपालको प्रकाशन संगै अनेकौं प्रश्नहरु उठे । हो, हामीमा पत्रिका किनेर पढ्ने बानीको विकास भएको छैन, हामी मनोरंजन, रेष्टुरेन्ट, फेशन वा डिस्कोमा आँखा चिम्लेर जति पनि खर्च गर्न तयार छौं तर पुस्तक वा पत्रिकाका लागि सानो अंश पनि छुट्याउदैनौं । यसर्थ यो ठाउँमा पत्रिका प्रकाशनको हाम्रो रहर व्यवसायिक हिसाबले पक्कै उपयुक्त छैन । यहीं नै एनआरएन इजरायलको विगत एक बर्ष देखि प्रकाशित हुदै आइरहेको "नेपाल चौतारी" यसको ज्वलन्त उदाहरण हो ।
तर साहित्य समाज व्यवसाय गर्दैन, हामी प्रवासमा रहेका नेपालीहरुमा एउटा विशुद्द नेपाली भाषाको पत्रिका पस्कन चाहन्थ्यौं, जसले हामीमा आफ्नो देश भाषा र साहित्यप्रति प्रेमको संचार गरोस, हाम्रा भावना, बिचार र आवाजहरु प्रसारण गरोस, जसले नेपाली जातीय एकताको शंखघोष गरोस !
देवकोटा शतवार्षिकी मनाउने क्रमको त्रिदिवसीय कार्यक्रममा सरिक भै समभाव बाड्नु हुने नेपाली दुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्ट, सचिव श्री विष्णु गौतम तथा थान प्रसाद शर्मा एन आर एन इजरायलका अध्यक्ष भुवनसिंह कुँवर, कानुनविद श्याम रोक्का, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु साथै पत्रिका प्रकाशनका लागि सधै हौसला र प्रेरणा दिनु हुने महामहिम राजदूत वैजनाथ थपलिया प्रति हार्दिक आभार व्यक्त गर्दै देवकोटा शतवार्षिकीको यो एतिहासिक घडीमा "मेरो नेपाल" लोकार्पण गर्न पाएकोमा यो ब्लगरले यसपालिको तिहार धेरै खुसीको महशुश गर्यो, भलै यसका लागि उसले कैयौं रात र निन्द्राहरु माया मार्नु किन नपरेको होस्?
सय दिपहरु धेरैबेर प्रज्वलित भैरहे । हामीलाई लाग्यो यतिको पृथक उज्यालो र झिलिमिली तिहार यो प्रवासमा यसरी पहिले भएको थिएन । यो उज्यालो ज्ञानको उज्यालो बनोस , चेतना र सिर्जनाको उज्यालो बनोस । लक्ष्मी तिम्रा सम्झना र श्रद्धाका दिपहरु हाम्रो मन मस्तिष्कमा सधै सधैं बलि राखोस ।

























