कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।







तेल अभिभ केन्द्र नजिकैको यो सानो शहर, सानो वस्ति डीजिन्गोफ़, हरेक विहान जसले पश्चिमतर्फको भू मध्यसागरको सामुद्रिक आद्रता र पूर्वको न्यानो घाम एकैसाथ महशुश गर्छ। प्रभात संगै उदाउछ मेरो झ्याल पनि, जहा निलो आकाश र कंक्रीटको अपार जंगलले भरिएको अजब दृश्य नचाहेरै पोखिइसकेको हुन्छ । सुन्दर डिजाइन र वास्तुले सजिएका यी आलिशान महलहरु गगन चुम्न उद्यत भएझै क्षितिजपर सम्म यस्तै एकोहोरो फैलिएका छन ।

झ्यालमा टांगिएको एकतामासको दृश्य पर क्षितिजतिर हेर्छु अनि घर सम्झन्छु हिमाल पहाड़ र खोलानालाहरु.....। प्रकृतिको त्यो तरंगमा क्षणभर हराउदा जून अतुलनीय सुखद अनुभव हुन्छ,त्यो अन्य सबै आयातित खुसी र भौतिक सुबिधा भन्दा मिठो चोखो र आत्मीय हुन्छ, लाग्छ कल्पनाका तिनै डुबुल्किहरु मेरा जिउने आधार हुन।

सागर किनारका वगरहरु, सर्लक्क उठेर घरहरुको घना जंगलमा अनुवाद भएका मात्र छैनन, मान्छेका बिचार र भावना पोखने मंचहरू, मनको कुरा बाड़ने मेला र चौतारीहरु कम्प्यूटर भित्र सांघुरिएदै गएका छन, यद्यपि सल्लेरी पाखा कै तृष्णा मेटिने गरि ठाउं ठाउं मनोरम उद्यान, पार्कहरु पनि बनेका छन र सागरका छालहरु पाइपको अन्तरकुन्तर बाटो भएरै पनि शहरको भित्री उपवनमा संगीतमय झरना र फोहोरा बन्न आइपुगेका छन। यो शहर जहाँ मान्छेले प्रकृति र प्राविधिको संयोजन गरेर यसरी सजाएका छन मानु कुनै शिल्प कुचिकारका रेखा र रंग हरुले क्यानभास् सजिएको हुन्छ प्रत्यक शहर बाटो घाटों पार्क र घर अनि कोठाका भित्री तह सबै सबै योजित कलात्मक र सुन्दर ......।

सबेरै कसैले फोन गर्छ "ओ राजनितिक कवी के छ हालखबर?"
उसले भर्खरै मेरो एउटा ग़ज़ल पढेको छ फेसबुकमा ।

विगतमा मैले मेरा धेरै रचनाहरुमा श्रृंगार र प्रेम भन्दा क्रान्ति वा राजनीतिलाइ अली बढ़ी नै उठान गरेको थिए, त्यसो त मध्यपूर्वको यो रणभूमिमा बसेर लेखिएका मेरा प्राय सबै लेख रचनाहरु युद्धकै सरोफेरोमा केन्द्रित छन । त्यसैले उ शतप्रतिशत गलत चाहि थिएन। देशको स्थितिले भित्र वा बहिर प्रत्यक्ष/परोक्ष प्रभाव पारेकै हुन्छ र मेरो साहित्य यसबाट अछुतो कसरी रहन सक्छ, भनेर उसलाई सम्झाउने कोशिश गर्छु। हैन ग़ज़लमा सौंदर्य र प्रेम मात्र सुहाउछ, कोमलता मात्र सुहाउछ उसको ठम्याइ छ ।

अब मैले देखाउन भए पनि अराजनीतिक विशुद्ध केही लेख्नै पर्छ।

तैपनि भन्छु -नेपालको अविरल गाईजात्रा र वितंडाको त कुरै नगरु! देखेका छैनौ टुडिखेलमा घोडेजात्रा देखाए झै यहाँ कसरी बेला बेला आकाशको विशाल रंगशालाबाट क्षेप्यात्र र युद्धक विमानको संहारकारी जात्रा देखाउछन? र शत्रुको नाश गर्यौ भन्छन ?

को हो मान्छेको शत्रु ?

अली अगाडी मैले धाइबाको ढकमक्क काठमांडू शीर्षकको संप्रेषण पढेको थिए एउटै कुराको वाक्क दिक्क लाग्दो विषयलाइ पनि अली पृथक दृष्टिकोण बाट चियाउदा यदाकदा त्यो सुन्दर पनि हुन्छ म अलीकती प्रभावित भएँ ।

त्यसो त म नियमित ब्लग लेख्दिन , कार्यव्यस्तताका धारिला समयहरूबाट आफुलाई जोगाएर फाटफुट कविता ग़ज़ल कोर्छु .त्यसमा पनि कहिलेकाही वरीपरी शास्त्रीय फ्रेम र मीटर लिएर घुमिरहने केही साथीहरुदेखि डर लाग्छ । युद्धभूमिमा बसेर घुमिफेरी त्यही युद्धकै कुरा, संघर्ष, वेमेल र विसंगतिका कुरा कति लेख्छस? कति धुवाउछस आगोको गन्थन, कहिलेकाही फुलको कुरा गर, प्रकृतिको कुरा गर --मलाई धेरैले सुझ्याएका छन ।

आज त्यस्तै केही कोर्न चाहे तर सकिन, पुरानै धंगधंगीले पराजित गर्यो, र फेरी हारयो मेरो सिर्जना !





धमिला राता दागहरू

आशाको किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म ...

सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।

खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?

हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।

रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।

हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।

सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ --बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ --राँको र टायरका धुंवाले ।

ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।

कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।

धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरीभरी
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।

हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।




12 ~
  1. कल्पनाको निलो सगरतल
    इन्द्रेणी रंगका यी प्रसूनहरु
    मलाई घामको झुल्को जस्तै लाग्छन
    म हेरी रहन्छु ।....

    म पनि दाईको यो कविता पढिरहन्छु

    Posted on 14 May 2009 08:15

     
  2. prawash Said,

    आशाको किरणहरु छरिरहेको
    न्यानो घाममा बसेर
    एकदिन मेरा कल्पनाहरुलाई मैले
    सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
    र हराएँ वादल पारी पारी सम्म ...

    हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
    प्रकृति आशा हो,
    म त्यही लेख्न बस्छु ।
    कवितामा छ सुन्दर प्रक्रिती प्रेम र चिन्तन ! भाव छ त्यो भन्दा विशाल र सुन्दर!

    Posted on 14 May 2009 11:26

     
  3. Prabhat Said,

    त्यसो त कृष्ण जिको रचना आज दिउसै एसो हेरेको थिए। मलाई लाग्यो अली पछी पढुला किनकी जब म वेब पेजहरुमा हेर्छु, साहित्यको जुनसुकै पाटोहरुमा पनि बर्तमान नेपालको अस्थिर राजनीतिक बिम्ब-प्रतिबिम्ब सल्बलाईरहेको पाउछु। शायद बिजयकुमारको भनाइ साचो होला: तपाईं राजनितिलाई कत्ती पनि वास्ता नगर्नुस तर एस्ले तपाईंलाई जबर्जस्त पछयाइरहेको हुन्छ। तर पाठकले त्यही रचना मन पराउछ जुनमा पाठकको आफ्नो जिबन दर्शनसँग ठीक्क मेल खान्छ र रचनामा आफुलाई पाउछ। त्यसो त सबै रचनाहरु पाठकले मन पराउनकै लागि कहाँ लेखिन्छ र? अनी पाठकले पनि मेरो जिबन दर्शन अनुसार मात्रै लेख भन्न त कहाँ पाउछ र? जे होस प्रकृतिमा सुन्दर शब्दहरु छरिएको यो रचनामा मैले आफुलाई धेरै हदसम्म पाये। दुई फेर पढे शब्दहरु केलाये झन वास्तविकताका छालहरु उर्लेर आए। तपाईंका हातहरु साहित्यको सगरमाथातर्फ लम्किरहुन!

    Posted on 14 May 2009 12:37

     
  4. B.R.Lama Said,

    krishna g tapaiko sahitya srijanale ma aaj kal mohit bhako chhu,blood presureko birami tehimathi bebaharik utar chatavle grasta mero mastisklai kehi samay bhaye pani tapaiko sahityale tonicko kam gareko chha so dhanyabat and keep it up.

    Posted on 14 May 2009 14:23

     
  5. ओजपूर्ण र रोचक भुमिकाका साथमा एकदमै यथार्थवादी,सशक्त कविता।
    हुन त काव्यमा कलम म पनि कमै चलाउँछु तर पनि यो कोलाहाल, अस्तव्यसत र अनिश्चितताको साम्राज्य लम्बिदैंजाँदा सौन्दर्यचेत त हराएरै जान लागी सक्यो ।

    मलाइ लाग्छ तपाई,मलाई मात्रै हैन अहिलेको स्थितिमा धेरैलाई यस्तै भएको हुनुपर्छ ।

    कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
    खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
    राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।
    उत्कृष्ट!!!

    Posted on 14 May 2009 20:24

     
  6. काले भाई
    म ता कविता लेखी नै रहन्छु
    ब्लॉग झ्यालमा बेलाबेला चियाउदै गर्नु चाहि पर्छ है पढ़नलाइ ।

    अरु पनि धेरै कमेन्टको लागि, धन्यवाद अनुज जी , तपाइका रचनाहरु पनि साह्रै चोटिला छन ।

    प्रभात जी, तपाइले भने जस्तै अहिले अस्थिर राजनितिक बिम्बरूपी बाढी बगिरहेको छ,र म त्यों भेलसंग संघर्ष गरि नै रहेको छू -पृथक भावको साहित्य सिर्जना गर्न तर नदीको वहाव विपरीत जानु निक्कै कठिन हुदोराहेछ यो मेरो लेखकीय भोगाई हो ।

    धेरै खुसी लाग्यो बी आर जी, केही हदसम्म मेरो रचनाले तपाईलाइ केही हदसम्म प्रसन्न बनाउन सफल भएकोमा ।

    दिलीप जी ,मलाई ब्लागमेनिया संक्रमणको पछिल्लै चरणतीर उन्मुख गराउन तपाईको पनि हात छ है, निरंतर रत्तीभर हिच्किच नगरी सरसल्लाह र सुझावका साथै प्रतिक्रया दिनु हुने तपाईको चौतारीमा बसेपछि म धेरै उत्साहित भएको थिए। र रह्यो लिपपोतको कुरा, म परें रंग रोगन र ग्राफिक कलाको बच्चा - बाह्य कुरो जति सिंगारे पनि भित्री प्राविधिक कोडको बिषयमा त्यति ज्ञान छैन । खाली अरुले ठिक्क बनाएको टेम्पलेट लियो, त्यसको ब्याक्ग्राउन्डमा भएको ईमेज पत्तो लगायो अनि आफ्नो अनुसार बदल्यो, त्यत्ती हो। यस्मा पनि इमेज सानो बनाएर हेरेको त हो , साइडबार र पोस्टका अक्षरहरु त पाहिलेकै ठाउमा तुन्द्रुन्ग झुंडीए - होस ठीकै छ ।

    हो सौन्दर्यचेत हराउदै गएको मात्र हैन, हाम्रो साहित्य निराशावादको उर्धोमुखी यात्रा तर्फ पो लम्किई सकेको हो की भन्ने डर लाग्न थालेको छ, सबैले जोगाऊ यसलाई, प्रेरणादायी प्रतिक्रयाको लागी धेरै धन्यवाद !

    Posted on 14 May 2009 22:31

     
  7. raj chhetri Said,

    superb! , krishna jee, its a heart touching piece, keep it up.

    Posted on 15 May 2009 07:54

     
  8. कृष्णजी, तपाईँका चाख र चिन्ताका कुरा निकै हदसम्म मनासिब लागे । कवितामा पनि जीवन जस्तै हराभरा जीवनको खोजी गरेको सुन्दरतम लाग्यो । आज हामीभित्रको सौन्दर्यचेत र संवेदनशीलताको भुलभुले जरूवा शनै:शनै हतासा र खिन्नताको घानमा परेर पर हुत्तिँदो छ । जीवनको भोक हामीले मेट्न पाएका छैनौँ ।
    अनेकौँ विशृङ्खलतालाई हाकाहाकी निम्ता दिएर सामाजिक रङ खलबल्याउने नशा लागेको छ। यस्तोमा धन्न मन, माटो र रहरको कुरा गर्ने हामी केही भावकहरू रहेका छौँ र मान्छे हुनुको अनुभूति बोध गर्न र गराउन पाएका छौँ र त्यही अनुभूतिको सियाँलमा बसेर जीवन नामको काफल टोक्ने बहाना मिलेको छ । आज मानवमा मर्दै गएको जैविक पक्ष र मौलाउँदै जाँदो होडबाजी र प्राविधिक घम्साघम्सीको बारे यति गहन रूपले शब्दचित्र उतार्नुभएकोमा धन्यवाद तपाईँलाई । यसै गरी जीवन जगाइरहौँ ।

    Posted on 17 May 2009 12:05

     
  9. IV therapy Said,

    Krishna Dherai din pachhi timro site herne time milyo. sabai padhe ek sabda pani nachhodi,ekdamai man chhoyo yar asto karya byastata ko babajut pani srijana haru lekhchhau.ekdam ramro chha yar man chhune khal ko.Bastab ma timro kura thik pani ho.Aba nepal ko astitwa jogauna yuba haru le nai kehi garnu parchha hoina ra?

    Posted on 17 May 2009 19:54

     
  10. राम्रो घहकिलो कुरा उठाउनु भयो कबिता मार्फत

    Posted on 18 May 2009 16:43

     
  11. असल मित्र
    कृष्ण जी,
    दुःखदायी अनि संघर्षसिल प्रबाशी जीबन र समयअभाबका कारण पनि अलिकती फुर्सदका समयहुँदा पनि म तपाइका हरेक प्रस्तुतीबाट कम्प्युटरका क्षेत्रमा केहि सिक्ने प्रयासरत रहन्छु तर जहिलेपनि दुइ शब्द तपाइलाइ शुभकामना र शुभेचछाहरू लेखुँला भन्दा,भन्दै ति तपाइका कला,कृतीहरू अध्यन गर्दागर्दै म त रनभुल्लमा पर्दछु र समयले साथ छाडीहाल्छ अनि कम्प्युटरलाइ "सटडाउन" गरेर जागीरलाइ "लग अन" गर्न जान बाध्यता पर्दथ्याे तर अचेल म नेपाली राजनैतिक उथल,पुथलका प्रभाब,नेपाली नयाँ कामदार इजरायलमा झीकाउन बन्द हुनु, अनेकन समस्यासंगै लगभग इजरायलमा भएका एक हजार बेराेजगारी नेपाली कामदारहरूकै लिस्टमा म पनि पर्दछु तसर्थ तपाइका हरेक पाइलाहरू सफलताका शिखरतर्फ अग्रशर भैरहुन्,पारीवारीक जीबन शुखमय हवस,तपाइजस्तै सृजनसिल नेपाली बन्नुमा सबैलाइ गर्ब हुनेछ ,कला,साहित्य र सामाजीक कार्यका नाँउमा हुने राजनैतिक द्वन्दमा तपाइँका नाँउ कहिल्यै कलंकित नहवस.....यहि मेरा हार्दिक चाहना र कामना ।
    अन्तमा,

    अबिरल जीबन्त बनिरहुन तपाइ र हाम्रा साथ,
    अनिश्चित छन् यी हाम्रा जीबन गाथ ।।

    निरन्तर हुन् सृजनशिल ति तपाइका कलमहरू
    स्वीकार्नुस शुभकामना र शुभेच्छाका मेरा सलामहरू ।।।

    Posted on 19 May 2009 00:09

     
  12. धन्यवाद राज, धाइबा, विष्णु, दुर्जेय चेतना र श्यामजी प्रतिक्रयारूपी प्रोत्साहनको लागि । श्यामजी भन्छन प्रतीक्षापछि प्राप्त हुने फल मिठो हुनेछ र शायद तपाईको प्रतीक्षा अरु लामो हुने छैन भन्ने मेरो आशा, कामना र प्रार्थना छ ।

    Posted on 19 May 2009 06:41

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था