एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ......।



"लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे ,
१२ बजे राति उनलाई घरबाट अपहरण गरियो ,
उनको शव घरनजिकैको जंगलमा कुटी कुटी मारेको अवस्थामा भेटियो..."

मान्छेको मन कति संवेदनाहीन हुदै गैरहेको छ?

पछिल्लो पटक २ वटा घटना घट्यो, प्रधानमन्त्रीले एक्लै जबर्जस्ति सैन्यप्रमुख हटाए, उता अनौठो शक्ति धारण गरेर राष्ट्रपतिले फर्काए।
शान्ति प्रतिको आफ्नो प्रतिबद्धताबाट कदापि विचलित नहुने बताउदै प्रधानमन्त्रीले राजिनामा दिए लगत्तै उनका कार्यकर्ताहरुले राष्ट्रपतिको कदमको समर्थन गर्नेलाई कालो मोसो लगाई जिल्ला जिल्लाबाट निकाल्ने वक्तव्य निकाले । सुरक्षाकै लागि मुख थुनेर बस्नु पर्ने यो कस्तो आतंक? कस्तो लोकतन्त्र ?

तराइको कुरै नगरुँ, शान्ति प्रक्रिया स्थापित भै सकेपछी पनि निरन्तर हिँसा रोकिएन यो क्षेत्रमा । मधेसी समुदायमा धेरैको ज्यान अनाहकमा गएको छ । पहिले जनयुद्धमा लागेर छाडेकाहरु वा त्यसको मारमा परेर बदलाले अभिप्रेरित भएकाहरु त्यसकै सिको गरेर विभिन्न खाले शशस्त्र समुह गठन गरेर छोटो बाटोको राजनीती गर्न अग्रसर भए, अनि जन्मियो छपक्कै बन्दुक बोक्ने राजनितिक समुहहरु । जीउधनको नाश वा व्यक्तिहत्या, जसका हिड्ने बाटाहरु हुन , तरिकाहरु हुन , प्रकृति फरक देखिदै छ , तर मान्छेको जिउ दाउमा पर्न छोडेको छैन । राजनीतिक रुपमा आफ्नो प्रभाव बलियो देखाउनकै लागि विभिन्न बहानामा जघन्य हत्याहरु भएका छन । जनयुद्ध कालदेखि नै शुरु भएको वदला र प्रतिशोधको भावनाले क्षति पुर्याउने वा हत्या गर्ने परम्परा बस्दैछ -राजनीतिको आडमा । मान्छेको जिउ सतरंजको प्युसा जति पनि ठानिदैन, कति सस्तो मान्छेको जीवन हँ?

किन बनायो मान्छेले राजनीति र शासन व्यवस्था ? आफु र आफ्नो घर छिमेक सुरक्षित हुन , न्यायपूर्ण समाज स्थापित गर्न हैन र? तर त्यो बहानामा मान्छे अझ असुरक्षित हुदै गैरहेको छ।

हो मान्छे संग सबै प्रकारका गुण दोष र स्वभाव हरु हुन्छन् । केही जाती केही नजाती, केही माया, केही घृणा, केही लोभ केही दानशीलता, केही रिस केही डर, जस्तो अरु सबै प्राणीमा हुन्छ। अभाव,आवश्यकता र परिस्थिति अनुरूप तिनको मात्रा धेरथोर भएको हुन सक्छ । कतिपय ज्यानै जाने सजाय दिईएका शिक्षक सेना, पुलिस, कृषक, व्यापारी, वेरोजगार, वा विद्यार्थी सबैलाई विभिन्न कारणको दोषी देखाइए पनि ती हाम्रो समाजका आम निरीह प्राणी मात्र हुन र उनिहरुको कथित अपराध वा भूल केवल समाज समय र परिस्थितिसंगको सापेक्षिकता मात्र हो । त्यसका लागी निम्त्याइएको प्राणहरण भन्दा ठुलो आतंक र बर्बरता अरु के हुन सक्छ? मानव "हत्या", दोषिले गरेको भनिएको अपराधको तुलनामा सैयौं गुना ठुलो अक्ष्यम्य अपराध हो, आफुलाई न्यायपूर्ण समाज बनाउछु भन्दै रगत पिउन पल्केका हत्याराहरुले त्यो बुझुन ।

 तस्वीर www.stormfront.org
न्याय र जनमुक्ति भन्दै आफ्नै भाईहरुको ज्यान ताक्न पल्किएकाहरु सग्लो मान्छेलाई घर बाटै थुतेर लान्छन र अनुसंधान भन्दै शिविर भित्रै कुटी कुटी मार्छन । त्यति भएर पनि दण्डकारी आफ्नो गल्तिलाई स्विकार्नुको सट्टा आफुमाथि गम्भीर षडयंत्र भएको भन्दै विपक्षीलाइ आरोप लगाउने वा नया नेपाल निर्माणको लागी केही छिटपुट दुर्घटना सहनु पर्ने जस्ता दम्भी अभिव्यक्ति दिदै हिडछन । मान्छेको रगत सँग खेल्नुमा अलिकती पनि संवेदना नभएको राजनीति किन हावी हुदैछ बुद्धको देशमा?

सभ्य मानव समाजले स्वीकार्ने त कुरै छाडौं मानसिक सन्तुलन गुमेका, विक्षिप्त भएकाहरुको मस्तिष्कले पनि सोच्न नसक्ने सुन्दै आंग जिरिंग हुने दण्ड सजायको आविष्कार गरेका छन हाम्रा न्यामूर्तिहरुले ।

के राजनीतिको रुप नरभक्षीको जस्तो हुनु पर्छ ?

छातीभित्र काँडा रोपिएजस्तै पिडादायी कथाहरु लुकाएर हामी नया नेपालका धुमिल छाया सजाई रहेका छौं । राजनीतिकर्मीहरु त्यही सपनाको दुहाइ दिएर हाम्रै जिउ ज्यान प्रयोग गरि रहेछन । विकास परिवर्तन वा सुधारको स्वाभाविक लालसा लिएका आम नागरिक यो अजिव वस्तीमा किन यसरि राजनीतिक षड्यन्त्रको शिकार भै रहेछन ?

अहिले साँच्चै लाग्न थालेको छ, आफ्नो विवेक र चेतनाले पृथक प्रस्तुत हुनेहरु, असहमति जनाउनेहरुको बाच्ने अधिकार खोसिएको छ । हिटलरको दम्भरुपी नया राजनीतिक आयतन भित्र किन झन खुम्चिदैछ्न स्वतन्त्र बिचार र आवाजहरु? किन झन कष्टप्रद बन्दैछन आम सर्वसाधारण नागरिकका दिनचर्याहरु र अप्राप्य हुदैछन मजदुरका सामलहरु ?

संघियताको नाउँमा मधेस फाँटका फूलहरु छुट्टिन खोज्दैछन हिमाल र पहाडहरुसंग र रगतको राजनीति हावी हुदैछ त्यो प्रदेशमा ।
अहिले हामी सबैले बुझिसक्यौं हाम्रो संवेदना र आकांक्षाका सिढीहरु चढ्ने आखिर त्यहि जंगबहादुर रहेछ, जो रगत लत्पतिएका हातहरु पखाल्छ र भन्छ हामीले बुद्धको देशबाट नयाँ संदेश दियौं।


कति निरीह बनेर सपनाहरुमा पुरिदै सत्ताको कित्ताफाँट गर्नेहरुको नाउँमा सहिद हुनु ? के अब यसको हिसाब राख्ने बेला भएन ? के अब आफ्नो स्वाभिमान खोज्ने बेला भएन? अब बलियो नीति नियम र मापदण्ड कोर्नै पर्छ समयले, - जिउज्यानसंग खेल्नेहरु बिरुद्ध . -आम जिन्दगी हराएको पत्तै नहुने आदिम बर्बर र रहस्यमयी समाज बिरुद्ध । र चिन्नु पर्छ हामीले शाकाहारीको ढोंग गर्ने नौटंकी ब्वासा र हुँडारहरुको अवतार । विचार र मत, अभिव्यक्ति र स्वतन्त्रताको महत्व सर्वोच्च र बलियो रहने न्यायपूर्ण समाजको अब हामीले रचना गर्नु पर्छ । दण्डहिनता र हिंसा बिरुद्ध विरोध लेख्ने समयरेखा अब हामीले कोर्नु पर्छ र हैसियत राख्नु पर्छ हिंश्रक राजनीति संग प्रश्न सोध्ने "तलाई थाहा छ जीवनको मूल्य कति हो?"



तस्वीर www.sagarshrestha.com.np

आँखा चिम्ली मुख थुन्न विवस हुन्छ मान्छे
विष्फोटनको जमिन झैं निरस हुन्छ मान्छे

थाहै हुन्न के को नाउमा, कतिखेर शहिद हुन्छ?
रुवावासी चल्छ तहस नहस हुन्छ मान्छे

हरेक पल असुरक्षित यतापनि उतापनि
संघारमै पोखिएको कलश हुन्छ मान्छे

हार्नेहरु पहिरिन्छ्न विजेताको ताज यहाँ
ढेडुको राज हो यो, "औजस" हुन्छ मान्छे

हिडदाहिडदै ढल्छ मान्छे, आँगन बाटै हराउछ
बजारको भिडमा सस्तो बहस हुन्छ मान्छे ।।




सन्दर्भ :
बसन्त ब्लग्स
गफगाफ











12 ~
  1. हरेक पल असुरक्षित यतापनि उतापनि
    संघारमै पोखिएको कलश हुन्छ मान्छे

    वाह ! क्या गजब शेर !

    Posted on 9 June 2009 00:58

     
  2. बढो मार्मिक प्रसँग सहित कुरालाई उठान गर्नु भयो तपाईंले। एउटा यस्तै तर अलिक फरक प्रसँगमा मैले मेरो ब्लगमा लेखेको थिए"हाम्रो देशको परिबेष प्रयोगमै छ। हामिले अझै पनि सर्बमान्य शिद्धान्तलाई न्युनत आधारमा खोज्न सकेका छैनौ। हामि राजनैतिक प्रयोगको त्यो अवस्थामा छौ जो शताब्दी अगाडिनै हुनु पर्थ्यो। हामी ढिला भएका छौ यो प्रयोगमा त्यही पनि हामीमा ढिला भएको आभाष छैन।"
    यहीकारण होला हामीले हाम्रो समाजमा रहेको अराजकता भोग्नु परेको। मानिस: मानिस कहाँ छ र हाम्रो देशमा। पशु भन्दापनि नराम्रो अवस्थाको जिबन बचेँका छौ हामी। हामी सँग मानिस भएको एउटा बिल्ला छ बस त्यही हो नत्र हरेक कुरामा हामी तल पर्दै गएका छौ।
    अनी उप्रोक्त प्रसँग सहित तपाईंले लेख्नु भएको गजल राम्रो लाग्यो। माथिका सबै कुरालाई तपाईंले तपाईंले १० लाइनमै भनी दिनु भयो.
    उतम रचना

    Posted on 9 June 2009 01:06

     
  3. Aakar Said,

    सुरक्षित हुने उपाय के होला ?

    Posted on 9 June 2009 05:05

     
  4. तपाइको लेखोट सहितको गजल पढें।
    विगत केहि समय देखी देशमा घटी रहेका निकृष्टतम घटनाका कारण तपाईको लेखनीमा आएको प्रतक्ष बिम्म, हामी सायद सबैले महशुस गरेको हुनुपर्छ ।

    हरेक पल असुरक्षित यतापनि उतापनि
    संघारमै पोखिएको कलश हुन्छ मान्छे

    हार्नेहरु पहिरिन्छ्न विजेताको ताज यहाँ
    ढेडुको राज हो यो, "औजस" हुन्छ मान्छे

    यि दुई शेरले अहिलेको मार्मिक यथार्थलाई गज्जबसंग प्रष्ट्याएको छ ।

    "तलाई थाहा छ जीवनको मूल्य कति हो?" भनेर पनि कस्लाई सोध्ने ???? । 'पशु-वाक्य' तपाई हामी बोल्न जान्दैनौं, 'मान्छे'लाई यो प्रश्‍न सोध्नै पर्दैन ।

    Posted on 9 June 2009 08:14

     
  5. दानवीय बर्बरताविरूद्ध मानव जातिसँग लड्ने कुनै अस्त्र हुँदेन । यसेले यति बर्बरतामाथि बर्बरता सहनुपरेको हो नेपालीले आज । संवेदना त कुन चरीको नाम हो, कुनै ठेगान छैन । फाटेको धाँजाबाट फुतुफुतु निस्किएर भुसुकभुसुक मर्ने छिचिमरासमान छन् मान्छे । अमानवीय कष्‍ट बेहोर्दै मान्छे मर्नु त मरिगए, बाँच्नेलाई अनेक सास्ती र त्राहि छ ।

    कृष्‍णजीका गहन शब्दको वजन जस्तै आज सबै नेपाली प्रताडित छन्, आहत छन् । सामाजिक, आर्थिकदेखि हरेक पाटोमा एउटा मान्छे छरपस्ट भएको नसँगालिने गरी, मानसिक तह त झन् कति झोल्लिएको छ, हिसाबै छैन ।

    आजको परिवेशमा मान्छे भएर बाँच्नुको हल्काफुल्का तुक्का जस्तो नियतिलाई लिएर लेख्‍नुभएको गजल पनि सार्थक छ, यसमा पनि साहित्यिक उँचाइ र अभिव्यक्तिगत तिक्खरताका हिसाबले-
    "हरेक पल असुरक्षित यता पनि उता पनि
    संघारमै पोखिएको कलश हुन्छ मान्छे ।" निकै आलङ्कारिक लाग्यो ।
    सस्तोपनको कुरा पनि उठाउनुभएको छ, अब हामी मान्छे यो भन्दा सस्तो भएर बाँच्ने,मर्ने सीमै सकिएको छ !!

    धन्यवाद तपाईँलाई जागरूक र चिन्तनशील लेख, गजलको लागि ।

    Posted on 9 June 2009 18:50

     
  6. Prabesh Said,

    खै के भन्ने भन्ने !! भनेर हुनेवाला केहि छैन । देखेपछि नभनि पनि बस्न सकिँदैन । गर्न खोज्दाखोज्दै पनि गर्न नसक्ने विकलाङ्ग अवस्थामा बस्नु परेको छ ।

    Posted on 9 June 2009 20:07

     
  7. "आँखा चिम्ली मुख थुन्न विवस हुन्छ मान्छे "
    "बजारको भिडमा सस्तो बहस हुन्छ मान्छे ।।"

    किन मान्छे मुख थुन्न विवास छ र किन भिडहरुमा सस्तो बहस हुन्छ मान्छे ?
    कस्लाई अब यो प्रश्न सोध्ने ? अनि हामीहरु त्यो समाजको तमासा हेर्ने किम्कर्तव्य भएका मान्छे !
    कतिन जेल यसरी बस्ने ? भोली आफै त्यसको सिकार हुन नसकिएला भन्ने छैन - ??
    निकै वजस्वी लाग्यो तपाई को लेख |

    Posted on 10 June 2009 01:01

     
  8. आकार जे ले भने झै सुरक्षित हुने र "औजस" नहुने उपाए खोज्नु पर्ला जस्तो छ ।

    हरेक पल असुरक्षित यतापनि उतापनि
    संघारमै पोखिएको कलश हुन्छ मान्छे

    अति मनपर्यो मलाइ पनि।

    Posted on 10 June 2009 03:25

     
  9. raj ghale Said,

    हिडदाहिडदै ढल्छ मान्छे, आँगन बाटै हराउछ
    बजारको भिडमा सस्तो बहस हुन्छ मान्छे ।।

    यो र माथि साथिहरु उल्लेख गर्नु भएको सेरले आजको विवश मान्छेको राम्रो बयान गरेको छ । लेखाइ मार्मिक लाग्यो ।

    Posted on 10 June 2009 04:23

     
  10. कृष्ण जी , गजल का सबै सेरहरु उतिकै वजनदार छन् ।तपाईंले जुन बिषय उठाउनु भएको सान्दर्भिक छ र पनि सुन्नु पर्ने कानहरु बुझो कोचेर बसेका छन् ,उनिहरुको क्रममा कुनै कमि आएको छैन । आशा गरौं हामिले हाम्रै तर्फबाट केहि गर्न सकौं गजल, गीतका माध्यम बाट भएपनि ।

    Posted on 10 June 2009 10:01

     
  11. पढेर आ आफ्नो बिचार प्रतिक्रिया लेख्नु हुने सबै मित्रहरुलाई धेरै धेरै धन्यवाद !

    Posted on 10 June 2009 12:33

     
  12. कृष्ण जि, तपाईंको आँगनिमा पहिलो पटक पहिला राखें अनी लाग्यो साच्चै राम्रो कुराहरुमा ढिलो गर्नुहुन्न.... तपाईंको समयसन्दर्भ सहितको गजल राम्रो लाग्यो बिशेष गरी यो शेर धेरै राम्रो लाग्यो।

    हिडदाहिडदै ढल्छ मान्छे, आँगन बाटै हराउछ
    बजारको भिडमा सस्तो बहस हुन्छ मान्छे ।।

    Posted on 27 June 2009 07:34

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था