एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई - रमाइला गफ गरेर .. . गफ गर्न र घाम ताप्न बाहिर भेला भएका थुप्रै साथीहरु, कोही टिक ट्याक टो खेल्नमा कोहि कुरा गर्नमा र कोहि रमिता हेर्नमा मस्त थिए । मानौं त्यहानेर भर्खर एउटा मेला लागेको छ । छेउमा अर्को हटडग बेच्दै थियो धमाधम, "पशुपतिको जात्रा सिद्राको व्यापार"...सम्झिएँ ।

म त सधैँ आउछु खुब रमाइलो लाग्छ तिमी कतिको आउछौ? 'तिमी' अर्थात प्रभात ढुंगाना, यो मेलाको नया आगन्तुक ठिटो लाइ सम्बोधन गर्दै उसले भनी । प्रभात भन्दै थियो - मैले त आज मात्र अपार्ट लिएको यहाँ, कसैलाई चिनेको छैन । उ नयाँ थियो उसका साथीहरु थिएनन ।
कस्तो छ त अपार्ट? के के किन्यौ?
उसले नारीसुलभ उत्सुकता देखाई र उसको घर सजाउन मद्दत पनि गर्ने भई । मलाइ त सलोन भन्दा पनि भान्सा नै ज्यादा आकर्षक बनाउन मन पर्छ । कुरै कुरामा उसले थपी, त्यसो त योभिलमा मैले धेरै मानिस देखेको छु, जो नाइट क्लब, क्यासिनो जाने, खाने, खेल्ने र फेशनमा पैसा उडाउने बाहेक केही गर्न जान्दैनन, अनि घर चाहि जस्ताको तस्तै ......म चाहिँ घर सजावटमा विशेष महत्व दिन्छु। यसो कहिले काही चिया पिउन पस्दा होस् वा बेलाबेला गेट टुगेदर गर्दा होस् घरको वास्तुकलाले छुट्टै प्रभाव पार्छ नि हैन र?
एकै पटक धेरै नै कुरा गरी उसले ।
शायद होला, यो मामिलामा केटीहरु अलि अगाडी नै हुन्छन ।
उसले गुन्द्री, रातो माटो, कमेरो अनि भकारी, धन्सार र बार्दली सम्झियो,
त्यो घर जहाँबाट हिमाल छर्लंग देखिन्थे ।
फ्लोरल कार्पेट बिच्छ्याईएको उसको सलोन, ३ वटा ठूला सोफाहरु, आमने सामने राखिएका थिए । मध्यभागको टेबुलमा राता पहेँला फूलका थुंगाहरु । भित्तामा ठूलो स्क्रिन भएको प्लाज्मा टिभी टाँगिएको थियो । सोफाको ठिक अघिल्तिर फायरप्लेस ...,वाँया पट्टि कुनामा पारदर्शी पार्टिशन गरेर टेबल कुर्सि, पुस्तकहरुको दराज र कम्प्युटर चिटिक्क पारेर सजाइएका थिए । बेडरुम र किचेन झनै राम्रो थियो ।
कति भयो यहाँ आएको ? अहा! साह्रै आकर्षक रहेछ तिम्रो घर ,तिमी त वास्तुकलामा निक्कै निपुण रहिछौ । अरुलाई फ़ुर्क्याउन त प्रभातले पनि जानेकै हो ।
अँ म त धेरै नै भयो . शुरुशुरुमा यो लुगा र समान किन्ने कुरामा एडिक्ट जस्तै भएको थिएँ । अहिले चाहि पैसा त्यति खर्च गर्दिन, नजिकै एउटा प्याड हेरेकी छु, २५००० डलर रे, त्यसकै लागि पैसा जम्मा गर्दैछु ।
रोज, दिक्षा, जिया, ड्युस, एमी, किम, लाउ, लेन, मोटी, चिरन,राखी, आसाफ, शेर्लिन., बेन ,इभा, उदेश,ग्याबी,सुबास, द भी, र म । विस्तारै प्रभात धेरै साथीहरु संग जोडियो, जति सुकै हतारोलाइ थन्क्याएर पनि साँझ ९ बजे पछि भेला हुने रुटिन नै बनायौ हामीले - कहिले विन्निको डिनर, कहिले डिस्को, कहिले क्यसिनो अगाडी ।
घुम्न कहिलेकाही समुद्रको किनार पनि गईन्थ्यो । साँझको बेला छालहरु नजिकै बसेर साथीहरु संग वेफ्वांकका गफ, भलाकुसारी गर्नु, जिस्किनु, वा लहर संगै बगेर पौडी खेल्नु । अत्यन्त रमाइलो लाग्न थाल्यो, अनुपम अनौठो र आनन्द ।
प्रभातले हामीलाई धेरै पटक उसको अपार्ट लिएर गयो, बाहिर डुल्ने मुड नहुदा, हामी प्राय रुबीकोमा पनि आसन जमाउथ्यौं । शायद यो क्रम ज्यादा भएकैले हुनु पर्छ बिचमा प्रभातले आफ्नो अपार्ट पनि चिटिक्कै पारेको थियो । दिन दिनै नया नया सामानहरु थपिन्थे, उसलाई मखमली रंग खुब मन पर्दो रहेछ । अरुको भन्दा विशेष उसले एउटा अग्लो मान्छेको मुर्ति र पुराना ३ थान बन्दुक ढोकाको छेउ मै राखेको थियो । धेरैलाइ यो अनौठो लाग्यो ।आ आफ्नो शोख त हो, मलाइ भने राम्रै लाग्यो ।
त्यसो त पश्चिमाहरु रातो रंग पनि कहाँ यसरी मन पराउछन र? हाम्रो भने संस्कृति जोडिएको छ यसमा - रातो माटो, सिम्रिक, अक्षता, लाली गुराँस वा सौभाग्यको रंग । उनीहरु चाही खालि खतराकै चिन्हको रुपमा हेर्दा हुन् ।
पछिल्लो पटक प्रभातले एउटा बुलडग किनेर ल्यायो, शुरुमा उ "खैरे" भनेर बोलाउथ्यो । खैरे खुब मायालु थियो , पछि पछि जादा भने "खैरे" त "स्पाइक" भएछ। रुबीले नै होला चेन्ज गरी दिएकी ।
एकदिन उनीहरु दिनभर "बीच" (समुद्रको किनार) मा हराए,। पौडी खेल्न हैन, बल्छी थाप्न गएका भन्थे। त्यसपछि काममा संगै जाने फर्कने , शपिंग वा खान खान पनि संग संगै हुन थाले ।
अब उनीहरुकै साथी (हामीहरु) बीच जिमघर, चौर , बगर वा क्याफेहरुमा उनीहरुको बेस्मारी कुरा काटिन थालेपछि, नानाथरी गफको बब्बाल धुवा उड्न थाले पछि र उनीहरु पनि यसरी हराउन थालेपछि, के शंका गर्ने ठाँउ हुदैन र?
(त्यसैले त यो कथा लेख्ने जाँगर चलेको...... खैर, कथा चाहि अधुरो छ है ।)
फुर्सद हुने बित्तिकै उ प्राय कसकोमा चियाउन जान्थ्यो?
.... हैन हैन, रुबीकोमा अलि धेरैं नै जान्थ्यो होला, तर अरुको मा पनि त बराबार गइ रहन्थ्यो नि ।
रुबीको र उसको प्रेमकथा लेख्न बसेको यो ब्लगरलाइ यसबेला उस्ले पुरा का पुरा निराश बनायो । उसले भन्यो - अँहँ, प्रेम -स्रेम उ कसैलाई गर्दैन रे, यदि मनकै कुरा गर्ने हो भने हामी सबैसंग उत्तिकै बाडीएको छ रे उसको मन । "हामी" अर्थात उसका साथीहरु ।
योभिलमा कति रुबीहरु छन कति प्रभातहरु छन, तिनको के गणना ? पल पलमा कति नज्जिक भए जस्ता हुन्छन कति टाढिए झैं, कति नयाँ हरु थपिन्छन, कति पुराना घट्दै जान्छन, यद्यपि योभिलमा पस्नेहरु भने कहिले काही कतै हराए जस्तो महशुश गर्छन , मान्छे हराउनु मन हराउनु रहेछ ।
त्यसपछि कति साथीहरु फेसबुकमा पनि जोडियौं, कति पहिल्यै थिए, यो भ्रम जालोले स्वैरकल्पनालाइ अर्को उचाई थप्दो रहेछ, कम्प्युटर खोले पछि बेग्लै संसारमा हराइने, बादल माथि माथि । भ्रम भन्ने थाहा पाएर पनि धेरै कुरा हरु कति प्यारा हुदा रहेछन ती वास्तविक झैं आभास हुन थाले, नामै नसुनेका कैयौं मान्छेहरु परिचित र नजिकका जस्ता लाग्न थाले। यस्ता धेरै परीचय र सम्बन्धले हाम्रो कल्पनालाइ अनौठो आकार दिदा रहेछन ।
संचार र प्रविधिको यो पछिल्लो उपलब्धिले हामीलाइ आजकाल अभासी (भर्च्युअल) संसारमा रमाउन सिकाएको छ । त्यो अदृश्य संजाल मा हामी एक अर्का संग जोडिदै जान्छौं । सागरमा छालहरु तरंगित भए जस्तै मनका तरंग हरु सजिलै प्रसारण हुने यस्ता माध्यम हरु नेटवर्किंग चौतारीहरु आधुनिक जीवन शैलीको अभिन्न पाटो बनेका छन । यसको स्वरूप रोधी मेला वा चौतारीको जस्तै छ । जहाँ एउटा मित्रमण्डली (ग्यांग) तयार हुन्छ। प्रयोगकर्ताको भावना बोकेर हिडेका प्रत्येक प्रोफाइल कम्प्युटरको कुना देश विदेश चहार्छ र फेरी उसमै फर्कन्छ ।
यस्ता चौतारीमा छपक्कै सुचना पाटीहरु हुन्छन कोही आफ्नो नोट राख्छन, कथा कविता वा तस्विरहरु टास्छ्न कोही समाचार वा चल्दृश्यका सेतुहरु पनि जोडछन ।
हेर्न जानेले राम्रो नराम्रो वा आफ्नो धारणा राखेर केहि लेखिदिन्छ, उ मख्ख पर्छ अनि कोही चाहि दम्भी पनि हुन्छन, उनीहरु चाहि खुब रिसाउछ्न, नराम्रो कसैले केहि लेख्यो भने, मानु त्यो चौतारी उनीहरुकै पेवा हो ।
यी घटना हरु कतै छापिएरै बस्छन . तिनका टाउकामा लेखिएको हुन्छ , फलानो ले यी यसो भन्यो यति साल यति गते .... तिलानोले यस्ती टिप्पी हान्यो ।
अँ त तपाइँ कथा सुन्दै हुनुहुन्थ्यो परीक्षाको कारण रुबीले योभिल खेल्न चटक्कै छाडेपछि ...उफ कथा अनपेक्षित रुपमा यतिकै सकियो, प्रभात पनि उत्ति आउदैन ।
अब त थाहा पाई सक्नु भयो ।म योभिल नामक खेलको पो कुरा गर्दै छु । जसलाई फेसबुक वा माइस्पेसका प्रयोगकर्ताहरुले खेल्न सक्छन । जहाँ तपाइँ तपाइकै रुप रंगको अवतारमा प्रतिस्थापित हुन सक्नु हुनेछ र त्यो अवतार तपाइको मन बोकेर योभिल शहर शहर घुम्न थाल्छ , मन परेको लुगा किन्छ, घर किन्छ, बस्छ उठ्छ पौडी खेल्न जान्छ, हल्ली हल्ली च्याट गर्छ त्यो पनि साथिकै घरमा गएर -सोफामा बस्दै चिया पिउदै । अनि तपाईलाई लाग्छ त्यो तपाइँ नै हो ।

अनलाइन साथि नहुदा र एडेड नहुदा वा शुरुमा अलमल पर्न सक्नु हुन्छ तर साथिहरु बनेपछि भने तपाइँ त्यो संसार बाट फर्कन चाहनु हुन्न फुर्सद, अनलाइन साथी र कनेक्सन स्पिड सबैले साथ दिनु पर्छ है यो खेल्नलाइ ल खेल्ने भए जानुस ।
http://www.yoville.com/
मुढो शरीर हुनु मात्र कहाँ रहेछ र मान्छेको अस्तित्व ? उसभित्र को मन त्यसको फैलावट, त्यसको यात्रा र त्यसकै सेरो फेरो मा हाम्रो जीवन घुम्दो रहेछ त्यसैले यस्ता भ्रमरुपी संसार को मोह बढ्दै गएको !
तपाइँ पनि यो ब्लगरलाइ यस्तै परिचयले त पढ्दै हुनु हुन्छ नि हैन र?
जादा जादै अलि अगाडीको मेरो फेसबुकको एउटा स्टाटस र कमेन्ट राख्न चाहन्छु , जसले यो टाँसो र कथा लेख्न प्रेरित गर्यो ।
अचम्म लाग्यो आफैलाई! अरुले प्रतिक्रया दिदा वा बूढी औला थिच्दा, किन
रमाइलो, खुसीको वा केही मिठो अनुभव भएको ?के आफ्नो मन अरुको भरमा चल्छ? के आफ्नै भावनाको गहिराईमा पनि अरुको बिचारले फरक पार्छ? त्यों पनि धेरैजसा कहिले नदेखेकाहरु, मन कस्तो चीज हो ?
साथ, भर र आत्मीयता यसैलाई त भन्छन् नि ! हामी एउटा ज्यान त आफैँमा ठोस मूढा मात्रै हौँ, यो ठोस ज्यानमा रक्तसञ्चार त हुन् अन्य परिवेश र पात्रहरू ।
रक्त संचार विनाको स्थुल शरीरमात्र त हुँदो त जीवन कति शुन्य र निरस हुन्थ्यो होला हगि?
मेरो ब्लगमा नयाँ पोष्टहरू








एउटा नया खेलको बारेमा थाहा दिनु भएकोमा कृष्णजीलाइ धन्यवाद ! कथा चाहि पुरा भएको भए हुने ।
Posted on 20 June 2009 03:07
नयाँ जानकारिको लागि धन्यबाद कृश्ण जी । तपाइको यो नयाँ कुराको स्वाद अवस्य लिनेछौ
Posted on 20 June 2009 05:39
कृष्णजी, मलाई पनि कता कताबाट यो खेलको 'निम्तो' आएको थियो केहि पहिले । तर के हो कुनी मलाई भने यो 'अबास्तबिक सत्य' मा रुची लागेन ।
यो, 'भर्च्युएल पेट' र यस्तै खालका अन्य कम्प्युटर जन्य 'खेल' ले मानिसलाई सपनामा वा अवास्तबिक संसारमै मात्रै गाँज्दै लैजाने त हैन !
Posted on 20 June 2009 06:27
हो दिलिप जी, मैले तपाईलाई देखेको छु योभिलमा, फेसबुकका साथिहरु एडेड नभए पनि देखिन्छन, अफलाइन अवतारको रुपमा। यहाँ सबै भन्दा गाह्रो कुरा चाहि एड गर्नु हुन्छ। तपाइँ र म पनि एड भएका छैनौं। याहू वा हटमेल च्याट जस्तो अफलाइन एड रिक्वेस्ट गर्न सकिन्न, दुवै प्रयोग कर्ता एकै समयमा, एकै सर्भरद्वारा एकै ठाउमा भेटिनु पर्छ । शुरुमा यसरि जोडिई सकेपछी भने उसका अनलाइन साथिहरु फलो गर्दै थप्न सकिन्छ ।
धन्यवाद सिकारु र राजजी, कथा रुबीको परीक्षा सकिए पछी अघि बढ्छ कि भन्ने झिनो आशा छ, पछी लेख्ने नै छु ।
Posted on 20 June 2009 08:49
मैले अरु यस्तै खाले गेमहरु देखेको थिएँ .. तर मेरो लागी यो चाहिं साँच्चै नौलो रहेछ | धन्यबाद है कृष्णजी...अब योभिल सहर तिरै भेटौला ...
Posted on 20 June 2009 14:45
नयाँ जानकारीको लागि धन्यबाद कृष्णजी! मैले दुई वर्षजति अगाडि 'सेकेण्ड लाईफ' मा दुई-चार रातको निद्रा मिल्काएको थिएँ। नराम्रोसंग लत बस्ला जस्तो भएको थियो। त्यो लतले गर्दा घरबार र जागिर दुईटै गोल्खाडी हुने लक्षण आयो:) त्यसपछि मलाई यस्ता गेमको कुरा सुन्यो कि डर लागिहाल्छ। पस्यो भने साफसंग अलमलिन्छ, त्यसैले पस्दै नपस्यो, ढुक्क!
कथालाई भने अगाडि बढाउनु होला, अफलाईन-अनलाईन जता भएपनि लप-सप प-या कुरा पढ्न खुब रमाईलो लाग्छ:)
Posted on 20 June 2009 22:33
म चाहिँ बचेको रहेछु यो लतबाट ! तर जाकारीले भने लोभ्यायो मज्जैले । तपाईँका प्रविधिबारेको व्यक्त्याइ पनि लोभलाग्दो लाग्यो । भर्चुअल दुनियाँले जीवनको वास्तविकता भने चार कोस पर नभागोस्, यो चाहिँ ख्याल गर्नुपर्ने लाग्यो ।
कथा भने कता कुलेलम ठोक्यो, तानेर ल्याउनुहोला, रुबीको परीक्षा नेपालमा भएको भए त कहिले सकिन्छ अलि ठेगान भएन ।
Posted on 21 June 2009 01:22
वास्तविक दुनियाँ मै अलमलिएर फुर्सद नभएर हो कि कुन्नि मैले नि यस्तो दुनियाँमा पाईला हालेको रहेनछु । तपाईंको टाँसो आज पढेँ बल्ल रमाईलो लाग्यो ।
Posted on 21 June 2009 03:36
कथाको कुरा पछि दिन नभुल्नु होला है। नयाँ खेलको बारेमा जानकारी दिनु भएकोमा धन्यवाद ।
Posted on 21 June 2009 06:33
धन्यवाद साथीहरु, हो यस्ता भुलैयाहरुले जागिरै च्वाट पार्ने सम्भावना छ भन्ने कुरामा त मेरो पनि दुइमत छैन त्यसो भै हाले पनि योभिलको वाईजेट फ्याक्ट्री मा "हाजिर हुने बित्तिकै पैसा पाक्ने" गज़ब्को जागिर कतै जादैन :) म त प्रमोशन भएर लाइन म्यानेजर छु अहिले .....सेलेरी नि राम्रै दिएका छन, (लोभ्याएको ;) अनि टिडिक गरेर पैसा झ्याप पार्ने आइडिया पनि सिकियो , त्यसैले ढुक्क छु ।
Posted on 21 June 2009 23:08
धेरै पछि मीठो कथा पढ्दै थिएँ । लेख्ने शैली नै गजबको। के म नयाँ शैलीमा लोभ्भिएको थिएँ?
प्रभात र रुबीको गोप्य प्रेम अघी बडोस् । नयाँ खेलको कुरा आयो - म अनविग्य रहें । कथाको
नयाँ पलटको प्रतिक्षा गरिरहेको छु।
Posted on 23 June 2009 04:58
Awesome venaju !!! dhilai vayae pani once again hats off to ur creativity.
Posted on 16 August 2009 05:19
Post a Comment