आज फेरी आएँ लौ, अर्को एउटा जेपिटी टासो लिएर । मूल कविता लेख्दै गरुँला , तर अहिलेलाई यही टाँस्न मन लाग्यो, त्यसैले जेपिटी भन्या... कारण ? कारण छ - कविता सुनाउन कार्यक्रम जाँदा वातावरण देखेपछी ट्वाक्क फुरेको .. ।
हितैसी मित्रहरुका सुन्दर पोस्टहरु आ आफ्ना ब्लगहरुमा चम्किरहेका छन । आफुचाहिं केही हप्ता अलि बढी नै व्यस्त भइयो र यो क्रम अगस्त महिनाभरि चल्ने तीव्र सम्भावना छ । वायरलेसरुपी चोर कनेक्सनले बेला बेला इन्टरनेट चोर्न नसक्नु, ड्युटीमा काखे निषेधित हुनु जस्ता पापी नियमहरु थपिनाले यस्तो भा' हो ।
खैर छाडौं अल्छीका बहाना कति छन कति...भनि साध्य छैन । त्यहि पनि पाठक {;)}वृन्दहरुलाई निराश नहुन अनुरोध गर्दछु :D ।
म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको विकास हुनु, बिभिन्न संघ संस्था हरुको स्थापना हुनु वा कार्यक्रम गरिनु आफैंमा सकारात्मक हो।
हुन त यस्ता आक्कल झुक्कल गरिने सुस्ते कार्यक्रमका के कुरा? नाचघर (डिस्को) र मदिरालयमा हरेक साँझ हुने मस्ती र धुम अनि चर्काचर्कीले हाम्रो "खास" परिचय गराएकै छ ।
यसपाला ढिलै भए पनि भानुभक्तलाई सम्झने सानु कार्यक्रम राखियो, कार्यक्रमभरि टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको "भरिभराउ" सम्झना आइह्यो ।
अनि कार्यक्रम मै एउटा कविता कोरियो । 
तिम्रो शहरमा अचेल
निधारभरि पसिना
आगो जस्तै बलेको सुर्य
मध्यदिनको यो प्रचण्ड गर्मी
शान्तिको -एउटा प्यासो वटुवा
एक अन्जुली पानी पिउने
कुवा खोजिरहेछ - तिम्रो देशमा ।
मानौं बालुवा जस्तै उसको छातीमा
युगौंयुगको प्यास अल्झिएको छ।
रम्घा जस्तै कैयौं गाउँहरु थिए
जहाँ रहरलाग्दा सपना बोकेका घांसीहरु हिड्थे
उकाली ओराली गर्ने थकित यात्रुलाई
पाटी र चौतारा बनाउदै ...
कुवा खनाउदै ...
खै त आज ?
किन अतृप्त यतिसारा प्यासहरु?
किन सुकेका जरुवाका मुहानहरु?
भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।
ती फर्कदैनन गाउमा
र खनाउदैनन कुवाहरु,
जहाँ चिसो पानीको मूल बोकेका
आँत हरहर हुने घाँसे कुवाहरु
सुकिसकेका छन
खडेरीको खेत धाँजा फाटे झैं ।
शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?
तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,
नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??
यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?
मेरो ब्लगमा नयाँ पोष्टहरू








मन छुने गरी लेख्नुभयो कृष्णजी! हामी नेपालीको जागरण-स्तर नराम्रोसंग गिरेको छ। तपाईँको कविताले हामी सबैमा आफ्नो पहिचानप्रति गौरव गर्न र त्यसको संरक्षण-संवर्धन गर्न सिकाओस्।
Posted on 20 July 2009 20:41
कृष्ण जी ,
शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?
तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,
सार्है मीठा लागे यी कबितांश ।
तर पछिल्ला केहि समय प्रबासतिर पनि साहित्यिक जमघट बढ्न लागेको छ कृष्ण जी त्यति सार्हो हतासनै भइहाल्नु पर्ने स्थिति पनि छैन ।
Posted on 21 July 2009 01:36
यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?
घुमाउरो व्यङ्ग्य सहितको एकदमै ओजपूर्ण रचना ! ।
देशमा गौरवपूर्ण गणतन्त्रको नशा र बेहोशीको नशाले उनका सालिक फुटाल्ने र नेपाली भाषालाई नै होच्याउने प्रबृत्ती हावी बएको बेलामा तपाईको कविता एकदमै सामयीक र मन छुने लाग्यो ।
Posted on 21 July 2009 21:32
भानुभक्त को योगदान यि बाहुन ब्लगरहरुले मात्र किन देखेका होलान् ?
Posted on 22 July 2009 04:26
तत्कालिन समय र परिस्थितिले सामाजिक परिबेशको ब्याख्या गर्न सकेको थियो वा थिएन मलाई थाह छैन तर पश्चिममा सामाजिक ब्यबस्था र मानब सभ्यताको चरम प्रयोग भईरहदा हाम्रा भानु नारी माथि पुरूष भएकै झोक चलाई रहेका थिए। तर उनको सम्झनाले मात्रै पनि भाषाप्रति खुब श्रदा बढेर आउछ। धन्य त्यसबेला पनि भानु शहर पसेका थिएनन्, पसेका भए त्यसबेलाको परिस्थिति र अहिलेको समयको राम्रो हेक्का हुने थियो। त्यस बेलाको सबै कुराहरू ठिकँनै थिए म भन्दिन, र घासीहरुले घासनै बेचिरहनु पर्छ भन्ने पनि छैन तर सामाजिक परिबर्तन यो गतिमा नराम्रो तिर जाला भन्ने पनि लागेको थिएन शायद। हामी घासी भएर देश भित्रै केही गर्ने छाड्यौ, बल र रगतको खेती हाम्रो साझा पहिचान भईसक्यो र हत्या र मारकाट हाम्रो उपमा।। तपाईको यी जोडदार शब्दहरुको कुनै मूल्य छैन, धेरै नै उच्चस्तर को प्रस्तुति।।।
भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।
बिशेष।।।। वाह
Posted on 22 July 2009 08:24
"तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको"
कृष्ण जी ,याथार्थ र मिठो शैली | हो - टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको जस्तो भीड़ जुटन नसक्नु विडंबना नै मान्नु पर्छ भानु को समझना मा |
Posted on 22 July 2009 15:00
माथि अनौपचारिक भूमिका पनि प्यारो लाग्यो । तपाईँ ब्लग-आकाशबाट अलप हुनुको गुह्य कुरो पनि जानियो । बरा ! भन्नुभन्दा अरू उपाय सुझेन अहिलेलाई ।
सांस्कृतिक पतनको कुरालाई मार्मिक तवरले उजागर गर्नुभयो कवितामा ।
डिस्कोथेकका काखहरूले 'दिमाग दुखाउने' सांस्कृतिक, नैतिक र साहित्यिक मान्यता रगतमा मिसिएका आफन्तहरूलाई न्यानो पारिरहेछ । यो क्षणिक तामझाममा आफ्नै पूर्वजहरूको डोंब र विविध सम्पदाहरू बेवारिसे बनेर खण्डहर बन्न पुग्छन् । नयाँ पुस्ताको पलायनको सिलसिलाले अझै के-के मात्र बाँकी रहँदो-नरहँदो हो !
कार्यक्रममै कोरिएको कविता ओजिलो छ, अझ फुर्सदमा अफिसको समय चोरेर 'काखे' त्यहीँ भिर्न पाएको भए त झनै उम्दो रचना आउँथ्यो होला ।
Posted on 22 July 2009 16:37
कृष्ण जी ओझेलमा पर्न लागिरहेको हाम्रा स्रष्टा र उनिहरुका योगदान र बाटाहरुलाई हामीहरुले समयको माग र यो सगैँ भित्रिएको बिकृति भनौ या बिसंगति लाई तपाईंले निकै ब्यंग्यात्मक तरिकाले तिखो रुपमा चित्रण गर्नु भएको छ। मानौ हामी हाम्रो परम्परा र संस्कृतिलाई पाखा सार्दै पश्चिमेली समाज सँग रमाउनु नै आजको एक्काइसौ सताब्दिको आधुनिक मान्छे भई टोपलेको ठुलो उपलब्धी सम्झिन्छौ तर वास्तवमा यिनै त हुन्,हाम्रा परिचय, हाम्रा सम्पत्ति र संस्कृतिका धरोहर ।
Posted on 23 July 2009 02:03
कृष्णजी, धेरै राम्रो लाग्यो, तपाईंले राख्नुभएको टासो ।
Posted on 24 July 2009 11:04
कृष्ण जी अति समय सान्दर्भिक कबिता रच्नुभएछ नफूरेको कसरी भनु यसलाई?
सबै कुरा साथीहरुले जनाइसक्नुभएको छ । यति भन्छु नेपाली संस्कृति सहितको आफ्नो पहिचानलाई सकेसम्म जहाँ भएपनि जोगएर राख्न जोड गरौ ।
Posted on 25 July 2009 06:41
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।
माथिल्लो एक हरफलाई विवसता भनिदिन्छु म, ताकि यसो भएपछि म यो कविताको तिक्ष्ण व्यंग्यको चपेटाबाट केही राहतको अनुभूत गर्न सकूँ |
सारै खँदिलो कविता लाग्यो कृष्णपक्ष जी | अवाक भएँ म त | लौ धन्यवाद छ |
Posted on 26 July 2009 17:20
ओहो, साह्रै गज्जब ले लेख्नुभएछ, कृष्ण जी !
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?
यो चाँहि रमाइलो लाग्यो मलाई !
Posted on 2 August 2009 08:26
हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
Posted on 6 August 2009 00:55
गम्भीर र व्यंग्य पूर्ण रचना ... तितो लागे नि यसले बास्तबिकतालाई समेटेको छ |
Posted on 10 August 2009 16:47
भानुभक्त प्रति समर्पण गरेर लेख्नुँभएको कवितामा कृष्णपक्ष जी ! समय कोर्नुहुन्छ यसरी ......
तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,
नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??
यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?
यहाँलाइ धेरै धन्यवाद् यति मिठो कविता पस्किनुँभएकोमा ।
Posted on 23 October 2009 06:44
Post a Comment