तस्वीर - www.crunchyroll.com


ठिक छ तिमीले भन्यौ
यो रीत हो- वियोग

मिलन पछिको विछोड ..
घाम पछिको छाया ...
भेटिनु अनि छुटिनु ..

तर खै त
रात पछिको दिन
प्रतिक्षा पछिको प्राप्ति

फेरि यसबेला .. भन त
तिमी किन सम्झाइरहेछौ
रीत सधै रीत जस्तो हुदैन ..... .

कृष्णजी, ब्लगलाई किन माया मार्नु भएको ?, शुक्लपक्ष लागेर उज्यालो भेटीयो कि कसो :) यस्तै हरफहरु फेसबुकमा टासिन थालिसकेका थिए ... कतै केहि नकेरेको धेरै भएको थियो ।






ब्लग लेखन को यो बिश्राम - कारण के थियो? हुनसक्थे - विदेशको वसाई, जागीरको प्रकृति वा अर्थमोह.... इ त पहिले पनि थिए वा सधै नै रहिरहनेछ्न । त्यस बाहेक पत्रिका प्रकाशनको व्यस्तता, अनेसासका कार्यक्रमहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको साधारण सभा, श्रम मन्त्रीज्युको इजरायल भ्रमण र इजरायलको रोजगारीका लागि नेपालीको फसेको करोडौं रकमको उद्धार हुने झिना आशा र त्यसले उब्जाएको व्यग्रता ..

व्यस्तताको सेरोफेरो धेरै लामो थियो , तथापि यी सबै केवल बहाना मात्र थिए भनेर मभित्रको ब्लगर बारम्बार गुनासो गरी रहेछ ।


त्यसो त लेखन पनि वहाना लाग्न थालेको छ - मन बुझाउने , मनको भारि बिसाउने वा भावनाको पनि अस्तित्व कतै हुन्छ भनेर देखाउने..तर कति उदासी हरु यस्ता हुन्छन जो न कतै लेखेर हल्का हुन्छन न कसैलाई सुनाएर । लाग्छ जो पोख्नु र नपोख्नु को कुनै अर्थ नै छैन । तर अर्को मनले त्यो पनि मान्दैन उ भन्छ तिम्रा भावनाहरु अभिव्यक्तिकै लागि मात्र हुन्, जब तिमी तिनलाई थुन्छौ ती अझ ज्यादा कष्टप्रद हुनेछन । त्यसो भए किन थुन्छ मान्छे आफुलाई र लुकाउछ अरुसंग कहिलेकाही ? मनहरुको अंतर्द्वंदमा धेरै हप्ता बितिसकेका छन - यतिखेर दोश्रो मन संग सहमत भएको छु र लेख्न बसेको छु ।

इखिलोभ भन्ने ठाउँ छ , टेड अरिसन स्वास्थ्य तथा अनुसन्धान केन्द्र, अर्थात सौरास्की अस्पताल । घडीले रातको दुइ हानिसकेको हुन्छ । झ्यालबाहिर दिउसो भन्दा पनि रमाइलो र झिलिमिली उदाइसकेको छ । म लोरिया लाइ सम्झिरहेछु, उ भर्खर भर्ना भएकी हो, त्यहि तलामा यियाल पनि भर्ना भएको छ म केहि हप्ता देखि यहि छु त्यसैले सदा भन्दा व्यस्त छु, (ब्लग विश्रामको मुख्य कारण पनि यहि हो ।) उनीहरु बिरामी हुन् म होइन , म काम गर्छु । अरु पनि छन - रसियन, रोमानी, माल्दोवा, फिलिपिनी वा इस्रयालीहरु । उनीहरु विहान सात बज्दा नबज्दै ड्युटी सकेर गैसकेका हुन्छन , म भने १० बजेसम्म बस्छु । कारण - मेरो ९३ बर्षको बिरामी छ- उ हरेक बिहान ९ बजे "फोर्टेओ" नामको सुइ लगाउदै आइरहेछ र त्यो मैले नै दिनु पर्छ । यो अलि नया र झन्झटिलो भएकोले नर्समा पनि उसको विश्वाश छैन ।

93 बर्षको यो बुढो मान्छेलाई जीवनको कत्रो मोह! उसको रगतमा हेमोग्लोबिनको मात्रा १२ १० हुदै ७ सम्म झरे पछी राति नै २ पैक रगत दिइयो, HB बढ्न थालेको संकेत पाएपछि उसको चाउरे अनुहारमा छाएको मुस्कान, हेर्नलायक हुन्छ, म हेरी रहेछु । त्यो जिजीबिषा रातको उज्यालो मा पनि चम्किरहेको उसको मधुरो बोली र इशारा बाटै प्रष्ट देख्न सकिन्छ ।

केहि समय म साच्चिकै कृष्णपक्षको अँध्यारोमा धकेलिएँ । रातभरको ड्युटी अनि दिनभरको सुताई त्यो भन्दा अरु अँध्यारो संसार अरु कुन बेला अनुभूत हुन सक्ला? ८ घण्टा भंदाका थप एक्स्ट्रा हावरहरु वाध्यतावश डलर संग साटिएका थिए र त्यसपछि बचेको समयले यताउता बरालिने बाहेक लेख्ने पढ्ने मा कहिले स्थान पाएन । पहिले ड्युटीमै यी सब हुन्थे, अहिले यहाँ "काखे निषेधित क्षेत्र" लेखिएको थियो ।


टिभी हेर्ने, रसियन फिलिपिनी वा रोमानिहरु मिलेर गफ चुट्ने बाहेक अरु कुनै उपाय थिएन , बिदाका दिन कुनै न कुनै प्लान पहिले नै तय भै सकेका हुन्थे ।


म यहाँ छु भन्ने थाहा पाएर मारिसेल माथिल्लो तलामा आइ । मारी लोरियाकी साथी । "क्रिश ! तिमीलाई कसैले सुनायो? लोरीलाई त क्यान्सर भएछ नि, अब के गर्ने होला? म तल्लो कक्षमा नपुग्दै उसका साथीहरुले लोरीलाई लम्फोसाइटिक लिम्फोमा अर्थात लिम्फ ग्ल्यांडको क्यान्सर भएको कुरा भने" ।

लोरीलाई क्यान्सर.... ? मैले हाम्री देवीमाया दिदीलाई सम्झिएँ । पोहोर साल उनि यसरी नै बिरामी परिन, डाक्टरहरुले उनलाई पाठेघरको क्यान्सर भएको ठहर मात्र गरेनन अवस्था जटिल भएको र उनी बाच्ने दिनहरु केहि महिना मात्र रहेको तोकेरै भिनिदिए । त्यो यहि तीजको बेला थियो । एउटा सांस्कृतिक कार्यक्रम मार्फत पांच लाखजति जम्मा गरेर एन आर एन तथा अन्य संस्थाहरुले सहयोग गरे ।

कुनै गणना छैन यस्ता कति देवीमायाहरु... लोरियाहरु, पराइको आँगनमा कर्म गर्दा गर्दै मृत्युसंग नजिक भैरहेछन । यसपाली पनि तीज उसैगरी आयो, कृषिमा काम गर्ने दाजुभाईहरुले आफ्नै हातले उत्पादन गरेका अन्न, तरकारी, फलफुल, दुध र घ्युले प्रवासमा रहेका १२०० भन्दा बढी चेली हरुलाई सामुहिक दरभोजको आयोजना गरेर माइतीको परिचय दिए । तेल अभिभको यो विशाल लेविन्सकी पार्कभरि राता र रंगीचंगी पहिरनमा सजिएर दिदीवहिनीहरु नाचे, मादलको घिन्तांग शहरी भरि गुन्जियो, विदेशी पत्रकार तथा टेलिभिजन च्यानल हरुले रमाइलो मानेर समाचार बनाए ।

तीजकै सन्दर्भ पारेर, राता तस्विरहरु टासेर चिटिक्क परेको टासो लेख्ने सोच त्यो दिनभर रह्यो, फेरी कुनै कारणले त्यो पुरा हुन पाएन । अर्को दिन महामहिम राजदूतको निवासमा मन्त्रीज्यूको स्वागतार्थ आयोजित रात्रिभोजमा सरिक भइयो । इजरायल सरकारले भर्खर नेपाली हरुको ४०० पेड भिसाहरु रद्द गरेको थियो , तत्काल रेस्क्यु हुन नसके करिब २० करोड बराबरको हाराहारीमा नेपाल र नेपालीको पैसा फस्ने पक्का छ । चाहे त्यो म्यानपावरको होस् चाहे ऋण काढेर विदेशिन लागेका गरिब बेरोजगार नेपाली दिदीबहिनीको ...त्यो हाम्रो पैसा हो । नेपालीको हो।

शुरुदेखि इजरायलको एउतै शर्त छ- म्यानपावरहरुले मनपरी पैसा उठाए, त्यो प्रथा तुरुन्त अन्त्य गरी यदि न्युनतम लागतमा कामदार आउने अवस्था हुने हो भने इजरायलको रोजगार आजै खुल्नेछ, तर अवस्था त्यस्तो छैन ।

वैदशिक रोजगारमा आउनु र दोश्रो दर्जामा उभिएर श्रम गर्नु नेपालीको रहर नभई वाध्यता हो । विग्रदो अर्थतन्त्र, वेरोजगारी. र असुरक्षाले त्यो सब निम्त्याई रहेको छ ।र सुरक्षित गन्तव्य खोज्दै हामी आफै "को भन्दाको कम" गरी लागत रकम बढाबढ गर्न वाध्य भैरहेका छौं ।


किन नियतिले अझै लेखिरहेछ हाम्रो भाग्यमा पराइभूमिमा यसरी दोश्रो दर्जामा उभिन र कर्म गर्न .. र स्वाभाविक भै रहेछन विदेशिने रहरहरु । लोरिया, उसको देश फिलिपिन्स पनि रेमिटेन्सलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाएर उभिएको छ ... घर छाड्नु वा विदेशिनु संग त उनलाई कुनै गुनासो थीएन । उसको गुनासो यो छोटो जीवन संग छ, या यो अस्वाभाविक मृत्यु संग ।

सबिना, लोरिया, मालो, नुया, सारा,जोहन, लोर्ना, सुदर्शन मारी...हामीहरु संगै दिजिंगोफमा रहदाका ती रमाइला दिनहरु सम्झन्छु । समुन्द्रको किनार सम्म लम्किएको लामो बगैचा क्याफे, गोरेटा र गल्लिहरु...हामीले संगै हासखेल गरेका, खाएका र डुलेका क्षणहरु फर्केर हेर्छु, कति छिटो बितेछ यो एक बर्ष? बिदाका दिनहरु एक अर्काको अनुपस्थितिमा हामिलाई खल्लो महशुश हुन्थे र अर्को दिनको प्रतीक्षामा रहन्थ्यौं । छुटिनु त हामीले छदै नै थियो एकदिन, तर लोरियासंग यस्तरी बिछोडिनु पर्ला भन्ने कलपना सम्म थिएन । प्रेमी प्रेमिकाको नाम नदिई यदि कसैले त्यो भन्दा बढी माया बाड्न सक्छ भने हाम्रो मित्रताको परिभाषा शायद यस्तै केहि हुन्थ्यो होला ।

जीवन गन्तव्य हैन यात्रा हो , त्यसो भए के यो यात्राको गन्तव्य "मृत्यु" हो त? त्यो महाशुन्य जहाँ सबै भावनाहरु निमिट्यान्न हुन्छन । जसको नजिकै आज उ उभिएकी छ । जीवनको यो कालो अन्तिम बिन्दुका विषयमा ज्यादा बहस नगरिए पनि या जति नै डराएर टाढा रहन खोजे पनि, मृत्यु हाम्रो अस्तित्वको एउटा अकाट्य वास्तविकता हो वा अझ भनुँ मृत्यु हाम्रो अस्तित्वको समाप्ति हो जुन कुनै पनि घडी आउन सक्छ , त्यो घडीका बिषयमा अनभिज्ञ हुनु हाम्रो अज्ञात सुख हो, जसबाट लोरिया बिमुख भएकी छ ।

"किन मलाई नै हुनु परेको? " शुरुमा उसका धेरै आसुहरु बगे ...उसंगको भेटले पनि सान्त्वना भन्दा अझ पिडा दिएजस्तो आभास हुन्थ्यो मलाई । तर यो घातक समाचार पछिको अस्वीकृति, आक्रोश, निराशा र समयसंग्को सम्झौता वा स्वीकारोक्ति सबै चरणहरु लोरियाले पत्याई नसक्नु संग सजिलै पार गरी ।

"जीवन त आजको नाम हो वर्तमान हो, त्यो मसंगै छ , भोलि के थाहा?" लोरिया हामीलाई नै सम्झाउन थालेकी थिई । उ भन्न थालेकी थिई , मसंग अझ धेरै बिहानहरु छन् हास्नलाइ, अझ धेरै साँझहरु छन् रम्नलाइ ... "म जतनले ती दिनहरु खुसि संग जिउन चाहन्छु" ।

पहिलो किमोथेरापी पश्चात उ यहाँ बस्दिन , हिजोका रहर र सपनाहरु सबै सबै भत्किसकेका छन । कामना र प्रार्थना बाहेक हामीसंग अब केहि छैन उसलाई दिन ।

लोरिया तिमीले त स्विकारि सक्योउ त्यो नियतिलाई जसको प्रतिवाद गर्ने कुनै अदालत छैन , तर कति गाह्रो छ त्यो कालो खबरलाइ स्वीकार गर्न म केवल अनुमान मात्र गरिरहेछु ।


यसबेला अरुणा लामाको स्वरमा सजिएको यो गीत
असाध्य सम्झना आइरहेछ --

भेटिनु छुटिनु त के हो र जीवनको रीत हो
नसम्झ तिमी यो मेरो विदाको गीत हो ...

13 ~
  1. कृष्ण जी तपाइँ त लेखाइमा निकै माहिर हुनु हुन्छ ... कति मिठो मानेर तपाइको बात सुनीरहे बिट मार्नु भएको पत्तै भएन ....मालाई त भाबुक्ताले छपकै छोपी सकेछ , अन्तिम हरफ हरु पढिरहदा |
    साची जिन्दगीका घटनाहरु रित भएर आए या नियति भएर बसे पनी लोरिया ले झैँ स्वीकार नै पर्ने रहेछ |

    Posted on 27 August 2009 14:39

     
  2. साह्रै भावुक बनायो तपाईको लेखले। मसंग अझ धेरै बिहानहरु छन् हास्नलाइ, अझ धेरै साँझहरु छन् रम्नलाइ ... "म जतनले ती दिनहरु खुसि संग जिउन चाहन्छु" जस्ता हरेक जीवनको पाटो र यथार्थतालाई संगाल्नु भयो। हरेको पक्ष र हरेक हरपहरु सुन्दर लागे।।।। धन्यवाद है मन नै छुने प्रस्तुतीका लागि।।

    Posted on 28 August 2009 02:27

     
  3. कृष्ण जी चाहदैमा छुटनु र नचाहेर जुटनु लाई टार्न नसकिने रहेछ । समय संगको यात्रामा चलिरहेपनि कहिलेकाही बेला र अवस्थालाई पनि मनन गर्नु पर्ने रहेछ तर यो बिचको खालि समयलाई अति मूल्यवान र सकारात्मक कुराले प्रभाबित गरेकोमा मलाई खुसी लाग्यो । देश ,देशबासी र मानवताका लागि(मन भए) जहाँबाट पनि सहयोग गर्न सकिन्छ भन्ने कुरालाई तपाइको ब्यस्तताले नै पुष्टी गरेको छ ।
    लेखमा निकै अर्थपूर्ण र गहन बिचार पस्कनुभएको धन्यबाद ।

    Posted on 28 August 2009 03:00

     
  4. मेरो पनि प्रार्थना छ लोरियालाई , ओठहरु खोल्न सकुञ्जेल मुस्कुराउने हिम्मत रहोस् उसमा । साथै सलाम तपाईंको मित्रतालाई । आँखाभरी आँसु डब्डबाएको पत्तो पाईंन यो लेखाई पढिसक्दा ।

    Posted on 28 August 2009 03:02

     
  5. आशा Said,

    कृष्ण जी लामो समयको अन्तरालमा उदाउनु भएपनि तपाईंको हृदय स्पर्शी प्रस्तुतिले त्यो खाली space लाई ढाक्न सफल भएको छ ।

    इजराएल बसाइमा हाम्रा दैनिकीका पाटाहरुसँग भुल्दै तितामिठा अनुभबहरु सगाँल्ने क्रममा तपाईंको यात्रामा लोरियाको कथाले मन सार्‍है स्तब्ध बनायो तर म सलाम गर्छु उनलाई र उनको अटुट साहसलाई ।
    हो, त्यो तितो सत्यसगँ सिमित समयहरु गुजार्न पक्कै सजिलो छैन तैपनि उभित्र कत्रो हिम्मत जो आँफैलाई सम्हालेर आफन्तहरुलाई र साथीहरुलाई मिठो सान्तवना दिन तत्पर भईरहेकी छिन्।
    हामीले केही सिक्नै पर्छ उनको कथाबाट जो जीवनका अन्तिम घडीहरुमा पनि आशा र विश्वाशका फुलहरु फुलाउँदै जिउन चाहन्छे,डुब्न लागेको रमाउन चाहन्छे।।
    लेख्दा लेख्दै केही हरफहरु फुरिहाल्यो, पस्किदीए है -
    दुई बचन मिठो बोल्दैमा
    कसको के नै जान्छ र ?
    सबै मिलिजुली बाँचौ हाँसिखुशी
    भोलिको यहाँ के नै भर छ र ?
    आपसमा बाँडौ दु:ख सुख है
    आखिर मरेर लानु के छ र ?
    सम्झनाका डालिसगैँ जिउँला नि बिछोडमा
    मृत्‍युले कसलाई छुट्याएको छ र ?
    आशा

    Posted on 28 August 2009 04:00

     
  6. Sujan Sharma Said,

    साहै मर्मस्पर्शि,मन छुने गरी लेख्नुभयो,जिन्दगीका बेदनाहरु।
    निशब्द भए:।

    Posted on 28 August 2009 07:09

     
  7. फेसबुकमा तपाईकोमा हल्ला गर्न पहिला पुगे पनि यहाँ भने म ढीला भएछु ।

    तपाईको व्यस्तताको बारेमा केही सम्भाव्य लख काटेको थिएँ, तैपनि धेरै दिनसम्म तपाईको नयाँ टाँसो नदेखेको र फेसबुकमा पनि पत्तो नमिलेकोले यसो बहाना खोजेको थिएँ, तपाईको हालखबर जान्नको लागि ! (पक्कैपनि अन्यथा लिनु भएन होला भन्ने आशा गर्छु !)


    बाँकी यो टाँसोको बारेमा, धेरैकुरा साथीहरुले माथि नै लेखीसक्नु भएको छ ।

    सुरुमा भाबुक बनें, अनि मन भरियो र अन्तमा फेरि नजानिदो किसीमले अध्यात्मतर्फ डोहोर्‍याएको अनूभव भयो यो टाँसोले ।

    कुन ग्रन्थको हो त सम्झन सकिन तर यो सबै पढ्दा कतै पढेको यो एउटा श्लोक याद आयो :

    मुहूर्तं ज्वलितं श्रेयं, न तू धुमायितं चिरम्
    अर्थात जीवनभर धिपधिपाएर बल्नु भन्दा एक क्षणको प्रज्वलताको जीवन श्रेयस्कर छ।

    Posted on 28 August 2009 09:21

     
  8. skpari Said,

    कृष्णजी तपाइँको लेखाइमा जो सरलता र मार्मिक्ताको मैले अनुभुती पाए त्यसले मेरो भित्रमन छोयो। लेखनमा त तपाई सांचै निकै माहिरै हुनु हुन्छ, शब्दहरुको छनोट राम्रो तरिकाले ठाऊँ दिएर न्याय् दिएको पाए छ। कति मनले लेख मिठो मानेर हेरेर बसेथ्ये बिट मार्नु भएको पत्तै भएन, भाबुक्ताले छपकै छोपी सकेपछि होसमा आएको पनि पतै भएन। माथि मित्रहरुले भनुभए जस्तै अन्तिम हरफ हरु पढ्दा साचै जिन्दगीका घटनाहरु रितो भएर आए, कृष्णपक्षजी अरु भन्दा पनि तपाईको नाम सित धेरै जसो लेख रचना हरु पनि मे खाएको जस्तो मलाई लाग्यो। त्यो सोचनिए को बिषय् नै मानु पर्छ... धेरै राम्रो लाग्यो।

    Posted on 28 August 2009 22:40

     
  9. लामो समयको अन्तराल(मेरा लागि) पछि तपाई झुल्किनु भएको छ । सार्‍है खुशी लागेको छ अनि सार्‍है व्यस्त पनि रहनुभएको रै'छ ।
    फेरी कर्सरहरु तपाईको ब्लगमा दौडिने छन् अब ।
    टाँसोका लागि धन्यवाद ।
    Keep Blogging!!!

    Posted on 29 August 2009 03:51

     
  10. आँखा रसायो लोरिया, तिमीले सोचे जस्तै यो जीवन आजकै नामको रूपमा सहज तवरले भोग्न सक । बाँकी ती बिहान र साँझहरू खर्च गर्दा खोटो सिक्का नबनोस् । मृत्‍युको किटानीपत्र लिएर बाँच्नु जस्तो जीवनजित अर्को के पो होला र ?

    कृष्णजी ओझेल रहनुको कारण पनि यो विरही कथासँगै सामुन्ने आयो ।
    फेरि-फेरि यसरी हराउनुपर्ने पृष्‍ठभूमिहरु भावीले तयार नपारोस् । यही कामना ।

    Posted on 3 September 2009 20:07

     
  11. साह्रै मर्मश्पर्शी टासो राख्नोभएको रहेछ । सर्बोत्तम लेखाइ । धन्यवाद, सुन्दर प्रस्तुतिको लागि ।

    Posted on 8 September 2009 18:08

     
  12. HAWA Said,

    लेखक हुन को लागि कोरा कल्पना ले मात्र पुद्गैन जीवनका बिबिध आयामलाई अनुभुत पनि गर्न सक्नुपर्छ पनि भन्छन क्यारे... हराउनु को पछाडि रहेको मानवीय सम्बेदनाहरुले यो टासो झनै पठनिय हुन पुगेको रहेछ...

    Posted on 9 September 2009 05:17

     
  13. मित्र कृष्णपक्ष जी !रोगबाट पिडित् साथी लोरीया प्रतिको यहाँले हेर्ने मानविय संवेदनाको अनुभुतिले मेरा नयनहरू यतिखेर स्तब्ध भए।समय यस्तै नसोचेका खेलहरू खेल्छ र हाम्रो मनहरूलाइ चोइटा चोइटा पारिदिन्छ तर के गर्ने टुक्रिएर बाँकी जीवन चल्दैन।संम्हालिनै पर्छ। त्यसैल्रे साथी लोरियालाइ पनि हुनसक्छ भने कुनै दैवी चमत्कार भएर पुनः त्यो पहिलेकै जीवन मिल्न सकोस्।म सँग शब्दहरू नै रहेन अब सिर्फ भावुकतामा फँसे।मन रोयो।

    Posted on 17 September 2009 15:01

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था