नया लेख रचनाहरु

"पागल" शिर्षकको कथा

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 1:41 PM

डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र बगैचाका छरपष्ट दृश्यहरुको बाक्लो स्मृति मनभरी फैलिई रहन्थे । हो, त्यो म थिएँ, र कुनै अस्तव्यस्त केयरगिभर, कुनै बिरामी, कुनै बेड ......... ।

लाग्थ्यो उ दौडिरहेको छ मरुभूमिको कुनै दौड - समयको बगर बगर ... किनारै किनार । खुसीका उज्याला रंगहरु अनि जीवनका शुक्लपक्षहरु चटक्कै बिर्सेर एकोहोरो कुनै युद्ध जित्ने धुनमा लागे जस्तो, यदि उ यो वालुवाको शहरमा कतै हरायो भने मेरा प्यारा मित्रहरु! "आइ एम एक्सट्रीम्ली सरी !" भर्खरै उसले डायरीको पातो कतै टाँसेको छ । "म संग हिड्नै पर्ने अरु धेरै यात्राहरु छन, र जित्नै पर्ने युद्धहरु" । उसका अधिकांश प्रेमपत्रहरुमा पनि यिनै शव्दहरु दिक्क लाग्ने गरि दोहोरिएका हुन्थे ।

 
(कलाकार बेन्जामिन द्वारा जेरुसेलममा भित्तेचित्र बनाइएको )







फेसबुक वा ब्लगका भने कुनै डेडलाइन थिएनन..., जहिले अपडेट गर्दा पनि हुने, गर्दै नगर्दा पनि हुने- स्वतन्त्र र यो स्वतन्त्रताको उपयोग गर्न उसलाई औधि मन पर्थ्यो । त्यसो त ऐच्छिक बिषय समेत कालान्तरमा अनिवार्य बन्दै गएका उदाहरणहरु पनि थिए जस्तो - पत्रिका प्रकाशन, जसको आफ्नै समय सिमा निर्धारित हुदै गयो। मनका भावना र तरंगहरु सबै सामु बाडेर आफुलाई हल्का बनाउने अनेकौं उपायहरु थिए- भित्ताहरु, पर्खालहरु, इन्टरनेटका सामाजिक संजालहरु, तर ती बिषयहरुले नै उसका दैनिकीलाई अझ बिथोलेको अनुभव हुनुको कारण के होला?

हरेक दिनहरु र सांझहरु अनियमित भए झैं लागिरहन्थ्यो । आफ्नै मानसिक थकाइले हो या कार्यव्यस्तताले ? बेचैनी बढ्न थालेपछि पिउनु, काखेमा हराउनु वा कहाँ कसले के लेखेछ भनेर चियाउनु या मुभी हेर्नु बाहेक खासै गतिलो विकल्प थिएन ।
अँ धेरै पहिले एकजना योगा मास्टर संग भेट्दा उनले भनेको याद आयो - हरेक बिहान ५ मिनट योगा र २० मिनट कार्डियोका लागि समय निकाल, बस सम्पूर्ण तनाव आफ से आफ हराउदै गएको महशुश गर्नेछौ । "उफ त्यति पनि राम्ररी म्यानेज गर्न सकिरहेको छैन" उ अझ चिन्तित भयो । कहिले काहीं समयले उसलाई र उसको दिनचर्यालाई नियन्त्रण गरे जस्तो लाग्थ्यो त कहिले भुतकाल बाहेक वर्तमान र भविष्यका सम्पूर्ण घटना र प्रकरणहरुलाई आफैले सम्हाल्न सक्छु भन्ने दरिलो आत्म विश्वाश पनि पलाउथ्यो । धेरै कुरा बुझ्न गाह्रो भैरहेको थियो के सबैलाई यस्तै हुन्छ त ?

भर्खरै उसलाई लाग्यो उसले "उ" भनेर सम्बोधन गरेको मान्छे उ आफै हो। आफु" अर्थात "म" । कहिले काही यस्तै हुन्छ । जब आफुले आफुलाई देखिन्छ - "केहि लेखिरहेको, कतै गैरहेको, केहि बोलिरहेको" । देख्ने र देखिने मान्छे दुवै आफै हुदा कसलाई के भनेर सम्बोधन गर्ने ? प्रत्येक ससाना बिषयहरु किन यस्तो जटिल बन्दै गएका ? त्यसोभए आफुलाई "म" भनेर लेख्दा के फरक पर्छ र?

चिन्तित हुदै पत्रिकाका सम्पादक सहकर्मी र घनिष्ट मित्र हरिजीले सोधे - तपाईलाई के भैरहेको छ हँ कृष्णजी ? सामाजिक संस्थाका मिटिंगहरुमा पनि उपस्थिति पातलो हुदै गएको छ, आफैले संचालन गर्नु पर्ने कार्यक्रमको जिम्मेवारी पन्छाएर फुर्सदै नभएको बहाना गर्दै कता भौतारी रहनु भएको छ ? हिजो साँझ अबेरसम्म भूमध्यसागरको किनारै किनार डुल्दै हुन्नु हुन्थ्यो । कहिले डकुमेन्ट्री बनाउने भन्दै डरलाग्दा सिमेट्रि(चिहान)का पहाडहरु खिच्दै हिड्नु हुन्छ रे ? तेल अभिभका शहरमा भत्किएका पर्खाल भरि पेन्ट गरि हिड्ने भित्ते कलाकारहरु संग मिलेर सघाउन पनि थाल्नु भएको भन्ने सुनिन्छ । ब्लग अपडेट नभएको पनि एक महिना ज्यादा भै सक्यो ।

हँ कसले सुनाएछ उहाँलाई यस्ता कुरा ? यस्तो व्यस्ततामा म कहिले समुद्र गएँ हुला ?अझ मशान........? कामै नभए जस्तो वाल पेंटिंग गर्नेको पछि किन लाग्थें ?
यो कस्तो चक्कर ? यी सबै सोधाइ र मेरो अवस्था घनचक्करमा पहिले कतै छापिए जस्तो लाग्न थाल्यो । हैन हैन - छाल, बगर,बीच भलिबल,बार्बिक्युको धुँवा ........ अलिकति सम्झना भएं झैं भयो । ए त्यो त अरु नै कोही थियो, समुद्र कहाँ छ भनेर सोधेपछि मैले बाटो देखाई दिएको मात्र थिएँ ।

हो त्यसदिन उ धेरैबेर बगरतिर बरालिएकै हो, कहिले काही यसरी बरालिदा सम्पूर्ण थकाइ मेटिए जस्तो हुन्थ्यो रे - उसको धारणा । कतै म पनि उसंगै किनार किनार हिड्दै त थिईन? हो उ कसैसंग कुरा गर्दै थियो, शायद त्यो म नै थिएँ, हुनसक्थ्यो हामी मशानतिर पनि संगै थियौं - खै प्रष्ट सम्झना भएन । आ, थिएँ भने पनि के भो त ? म मात्र जान्थें र त्यसरी घुम्न ? एक एक गर्दै सम्झनाका चांगहरु अटेसमटेस गरि सल्बलाउन थाले । रंग, कुची, भित्ता, क्यानभास, सिंगमरमर, चिहान... खुलिएझै ती चित्रहरु किन अस्पष्ट देखिएका ?

अलिकति बेचैन मनलाई सान्त्वना दिन गीत गुनगुनाउनु, कतै घुम्न निस्कनु वा कतै केही लेख्नु पोख्नु वा कोर्नु ... पक्कै अस्वाभाविक हैन । त्यसै पनि दिनहरु कुनै नियमबद्धतामा बाधिएका छैनन् आजकल । त्यसो भयो भन्दैमा यसरी अफवाह र हल्ला फैलाउदै हिड्नु कति सम्म जायज हो ? परिस्थिति संगै मान्छेका रुचिहरुमा अनेकौं परिवर्तन आउछन, यतिखेर मेरा रुचिहरु पनि बदलिएका छन भनेर नबुझेपछि कसको के लाग्छ ?

चिठी पत्र, संदेश र गफगाफ भित्ताभरि सोहोरेर काखे टेबलमा मुस्काई रहेको छ । भेटघाट र छलफलमा सहभागिताको निम्तो छ , पढ्न भनेर ट्याग गरिएका लेख रचनाका ओइरो लागेका छन । ह्विस्कीको पेग र सिगरेटको धुँवामा धमिलिएको यो रंगिन साँझ, म प्रति फैलिएका अफवाह र भ्रमहरु गलत साबित गर्न तम्सिएको छ, जो मलाइ भनिरहेछ --अब फेरी केही लेख्नु पर्छ, मिटिङहरुमा उपस्थिति जनाउनु पर्छ , पत्रिका समयमा निकाल्नु पर्छ, वेवसाइट अपडेट गर्नु पर्छ, अब सबै व्यवस्था मिलाउनु पर्छ, परिस्थिति संगको अभ्यस्तता नै जीवनको कला हो । तर त्यो कला सिक्ने कसरी?

सम्हालिएर एउटा गज़ल लेख्न बस्छु ३ खिल्लि सिध्याएर २/४ हरफ केरकार पारेपछि एउटा गज़ल तयार हुन्छ ...




क्षितिजमा गोधुली यो, साँझ डुबेजस्तो
किन उदास छ समय, जहाज डुबेजस्तो

अस्तव्यस्त सधै सधै, कुन्नि केको हतार ?
कतैतिर मुख्य काम, काज डुबेजस्तो

हिजो फर्कंदैन केहो, थाहा छैन भोली
यहि वर्तमान पनि आज डुबेजस्तो

पराजित सिपाहीझैं, यौटा राजा आयो
दर्बार संगै मानौं उस्को, ताज डुबेजस्तो

कृष्णपक्ष अँध्यारोमा रुमलिँदै थियो
खोल्न नपाइ उज्यालोको, राज डुबेजस्तो




तन्मयतालाइ भंग गर्दै एउटा मिठो गीत छेउमा उसैगरि गुन्जिरहेको छ
"हुँ यात्री एउटा रुमल्लिई हिड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा ......
 
(कलाकार देदी द्वारा दिजिंगोफ सेन्टर  तेल अभिभमा भित्तेचित्र बनाइएको)










यसमा 12 प्रतिक्रिया: छन ।

  1. दीपक जडित यसो भन्नुहुन्छ :

    कथा प्रत्येकको यस्तै नहोला तर अधिकको हुन्छ यसमा मलाई चैं शंका छैन । म आफैंलाई पनि कैलेकाहिँ यस्तै महसुस हुन्छ कि म आफु र आफ्नै पाईलाहरुको होडमा यसरी नै कतै अल्मलिईरहेको छु झैं लाग्छ । कथाको प्रस्तुति अब्बल छ त्यसमाथी गजल त झन बयान गरिनसक्नु । त्यसैपनि मलाई बयान गर्न आउंदैन । कथा र गजल दुबैले साह्रै नै लोभ्याए ।

  1. Chaitanya यसो भन्नुहुन्छ :

    एउटा गहिरो आत्मबोध ! हामी सबै किनारै किनार दौडिरहेछौं , तपाइंले देखेजस्तै र लेखेजस्तै|सद्देपन र बिछिप्तताको सीमारेखा पो हो कि यो ?

  1. Dilip Acharya यसो भन्नुहुन्छ :

    धेरै दिन पछि यो पोस्ट आयो, तर निकै भवना प्रधान र मानव चित्तदशाको सहि विश्लेषण रहेको पाएँ।

    पुछारमा रहेको गजल झनै प्रीय लाग्यो मलाई !

  1. Basanta यसो भन्नुहुन्छ :

    आत्मबोध छ, जीवनदर्शन छ यो लेखमा! हामी सबैको कथा यहि हो, समय र स्थान फरक होला।

    र गजल त नम्बरी सुनजस्तो छ!

  1. chudamani यसो भन्नुहुन्छ :

    "परिस्थिति संगको अभ्यस्तता नै जीवनको कला हो । तर त्यो कला सिक्ने कसरी ? "
    यो आम समस्या हो | किन भ्रमहरूले घेरो मारिरहन्छन जीवनमा कुन्नि ! कस्तो किनाराले कहाँ पुर्याउने होला ? तर जीवन बग्नु नै छ निरन्तर ....
    सारै गहिराईमा पुगेर सरल रूपमा जीवनलाई स्पर्श गरेको पाएँ |
    धन्यबाद कृष्णजी |

  1. गोकुल ढकाल यसो भन्नुहुन्छ :

    बढो राम्रो गजल्, लेखको त कुरै नगरौ ।

  1. बेदनाथ पुलामी ( उमेश ) यसो भन्नुहुन्छ :

    कृष्ण जी तपाइँ त बडो सुर ताल को मान्छे हुनु हुदो रहेछ ! मैले पनि त तपाइँ कता हराउनु भएको होला भनेर सोच्या'थे ! यसरि आफ्नै ताल मा बसिदिनु भएको रहेछ र पो ----
    सायद यस्तै हुन्छ होला सबैलाई - बेचैनिपन तर सधै होइन कहिले काही ! जेहोस आफ्नो कुराहरु सहज रुपमा प्रस्तुत गर्नु भएको छ - अनि म पात्र ( आफु स्वयम् ) को बखान यानी प्रसंग |
    सन्दर्भ सुहाउदो गज़ल र क्यानभास को पिक्चर टास्नु भएको रहेछ - एक दम उतम रहेको छ |

  1. विवेक यसो भन्नुहुन्छ :

    कल्पनाका चित्रहरु शव्दमा उतार्नु भएको छ । प्रस्तुति मनोरमनीय लाग्यो ।

  1. Chaitanya यसो भन्नुहुन्छ :
    This post has been removed by the author.
  1. Chaitanya यसो भन्नुहुन्छ :

    तपाईंले प्रतिक्रिया लेखिसकेपछि कविता अझै थपेकोमा क्षमाप्रार्थी छु | मेरो 'अनुभूति' कविता पुन: पढ्न अनुरोध गर्छु| अझ नयाँ पनि पढ्नुहोला है कृष्णजी !

  1. Amar 'Sarobar' यसो भन्नुहुन्छ :

    भर्खरै यहाँको ब्लग हेरे साह्रै राम्रो लाग्यो ।

  1. Jotare Dhaiba यसो भन्नुहुन्छ :

    परिस्थिती र परिवेश मात्र न फरक हुन्, उस्ताउस्तै कथा र व्यथाले हामी सबैलाई अँगालो हाल्छन् । यो पागलपनभित्र खास जिन्दगीकै मात घुलेको छ । यति साह्रो गज्याङमज्याङ हुन्नथ्यो भने यसको नाम जिन्दगी नै रहन्नथ्यो कि ?
    उज्यालोको खोजीमा फटफटिएको पखेटालाई परैबाट भए पनि चुम्बन गर्छु, र पाडटीप्पणीसरह आएको यो कथा उर्फ व्यथाको 'पेटबोली' गजलमा आफैँलाई छाम्छु ।

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............