राम्ले कारागार इजरायल
प्रिय आविया,
तिमी भन्न सक्छौ -म प्रेमको नाटक गर्दैछु या तिमीलाइ बहकाउने कोशिश। तर जे भन आविया, केही दिनयता मलाइ यस्तै भएको छ, जुन हामी बीच हुनु हुदैन थियो । …
पत्र लेखि नसक्दै एकपटक पढ्छ र फेरी च्यात्छ । उसलाई किन के भै रहेको छ ? के उ आवियालाइ प्रेम गर्छ त ? होइन उसले त केवल सम्झौता मात्र गरेको हो उसको गैरकानुनी पेशा वा वसाइलाई बैध बनाउने जमर्कोमा उ भेटिई, बस त्यति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेशाबाट मुक्ति पाउन इजरायलमा त्यति सजिलो कहाँ थियो ?
दुइ महिना अघिमात्र हो, आविया हामी दुवैलाई राम्रो हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो- फेरी आज अचानक यो कस्तो अनुभूति उ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन? कुनै हलक्क बढ्ने बिरुवा जस्तो? त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनु पर्छ उसको मनको आँगनमा । आवियालाइ यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे - जेल परेपछि बचाउको उपायमात्र गरिरहेको छ उ । उसले सोच्यो -अहिले केही भन्दिन ।
तेश्रो पटक हो उ पक्राउ परेको …… जेलमा छदा कस्ता कस्ता भावनाहरुले खेद्दा रहेछन । सासै बन्द होला जस्तो उकुश मुकुश भएर आउछ । कति धेरै उमंग थियो त्यो बेला विकल्पहरु पनि अनेकौं थिए । त्यस्तै विकल्पहरु मध्ये फ्रेन्डशिप भिषाको भरपर्दो उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमीप्रेमिका विवाह पुर्व नै संगै बस्ने चलन हुदो रहेछ । यदि कुनै इजरायलीको विदेशी संग प्रेम सम्बन्ध रह्यो भने उसलाई आकस्मिक भिषा दिईने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डशिप भिषा भनिदो रहेछ । धेरै झन्झट पनि गर्नु परेन एजेन्सीले नै सबै ठिकठाक मिलायो । महिनाको तीन,चार सय डलर बुझाउने शर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भइ। उसको फ्रेन्डशिप भिषा लाग्यो स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन् थाल्यो … साधारण केयेरटेकरको भन्दा तेब्बर सम्म हुन्थ्यो ।तर उनीहरु साच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपन्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो । त्यही भयो … कसैले पोल लगायो । ढुक्क के थियो भने पटक पटक आवियाले उनीहरुको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ ।
आज पनि उसले यसै गर्नु पर्नेछ ।
फागु पुर्णिँमा । तर सबै रंग उडेर गएजस्तो उदास र आफै भित्र रित्तो महशुश गरि रहेछ उ। काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी बिरंगी अबीरहरुको स्मृतिभित्र केहीबेर उ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ विदाको दिन कति रमाइलो भयो होला ?
होलीकै बेला यहाँ पुरीम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरु वसन्त ऋतु आगमनका संकेतहरु हुन् । होली रंग छयापाछयाप गरेर खेलिन्छ भने पुरीममा चाहि रंगीचंगी पोशाक लगाउने कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरुको नक्कल गरेर शहर डुल्ने । विशेष गरि केटाकेटी असाधारण र अनौठो फेशन गर्छन । पोहोर साल आवियाको भाइलाइ उसले ढाकाको दौरा सुरुवाल मगाइदिएको थियो नेपालबाट । आफुले कुनै अवसरमा नलगाए पनि अरुले यसरी आफ्नो पोशाक लगाएर शहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, बन्नीहिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरुको इन्द्रेणी लश्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।
बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुन्द्रको छालमा तैरनु, बालुवामा उत्तानो पल्टनु वा जिउभरि डेड सीको माटो दलेर ढाड सेकाउनु । आविया संग डेड सी घुम्न जाँदा सिकेको- त्वचा सुन्दर हुन्छ रे ।
धेरै निम्ताहरु व्यस्तताको कारण देखाएर आफै बदर गरि दिन्थ्यो । अवशेष जस्तो समयको डायरीमा आविया संगै बिताएका दिनहरु त कति नै थिए र उसका? यद्यपि आज यस्तरी पल्टिरहेछन ती पानाहरु, मानौं उसको छाती भित्र कुनै ठुलो आधिबेहरी मडारिई रहेको छ ।
सम्झाैता बमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरुबेला आवियासंग खासै उस्तो निकटता रहेन । फ्रेन्डशिप भिषा लगाएपछि शुरुको एउटा काम खोज्न चाहि उसले सघाएकी थिई। त्यो रिशोनको सुपर बाउलमा थियो - मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छोडीदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इर्ष्या गर्नेहरु पनि धेरै भएका थिए ।
बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नु पर्थ्यो
। आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक बर्षमात्रै हजारौं डलर बुझाइ सकेको छ । पक्राउ परेपछिको वकील खर्च यसरी समातिदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डशिप भिषा जतिको झन्झटिलो केही लाग्दैन थियो। सोच्थ्यो बरु लिभ इन् केयर गिभर मै गएको भए हुने न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या । जेल बाहिर निस्केपछि भने भोली पल्टै यो सबै बिसंथ्र्यो उ । अरु त सबै आनन्दले बसेकै छन दिनभरी तेल अभिभ डुल्ने खाने खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउछ कुनी ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो होकि या उ आफै अलि जोगिने कोशिश नगरेर हो॥ कारण जान्ने असफल प्रयास गर्छ ।
किन यति साह्रो कडाइ गरिएको यहाँ? श्रम बेचेरै दुइ चार पैसा कमाउन आएको विदेशी प्रति यो कस्तो अप्ठेरो कानुन ? यस्तो लाग्छ उ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ति भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ ।
मुद्दा चल्यो, वकील लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैर सरकारी संघ संस्था सबैले आ आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने । अन्ततः आज एक महिना दुइ हप्तापछि उसले आफुलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पखिर्रहेको । उसको हातमा टिकट थमाइएको थियो घर फर्कने । उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ? आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेति गर्ने देशमा किन मान्य हुन्थ्यो ?
फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्ट कै एकजनाले एअरपोर्ट सम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शुन्य थियो मन, जहाँ उसंग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो आविया प्रति । त्यतिका पैसा लिएर पनि यसपाली प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन - हामी प्रेमीप्रेमिका थियौं ।

मेरो ब्लगमा नयाँ पोष्टहरू








कसैको वशमा नरहने प्रेमको नजानिँदो तर सक्कली रुपलाई तपाईंको रचनाले गहिरो तवरले प्रस्तुत गरेको जस्तो लाग्यो | कथालाई धेरै पल्ट निफन्दै पढ्दा मैले यत्ति बुझ्न सकें | शब्दका र शैलीका त कुनै कुरै गर्न परेन, शिर्षक बोक्ने पात्र भन्दा पनि प्रेम भिर्ने पात्रमा निकै ध्यान गयो मेरो |
Posted on 16 March 2010 05:09
प्रवासी नेपालीको नियतिलाई टपक्क टिपेको मर्मस्पर्शी कथा! सबै हिसाबले उच्चकोटिको छ।
Posted on 16 March 2010 07:36
कथा खुब मन पर्यो । प्रवाशमा रहेको नेपालीको जीवनशैली र त्यहाँ झेल्नुपर्ने समस्याहरूको बारेमा कलम बोलेको छ । सारमा भन्दा कथा अति राम्रो छ ।
Posted on 16 March 2010 08:47
खै ! म संग त भन्ने केहि शब्दहरु नै भएन .... हरेक हरफै पिछे ...म यति गहिराइमा डुबे ....अनि कता हराए थाहै भएन ....
एक दम मर्म स्पर्शी र .... कुनै यथार्थ कुरालाई नै आधार मानेर लेख्नु भए जस्तो छ नि ! शब्दहरुले मोहनीलगायो र तपाइको लेखन शैलीमा जादु रहेको छ !
"उभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसि नभएको यो कस्तो निरीह स्वाभिमान उसको ?" त अझ मन छोयो ...आविया प्रतिको प्रश्न र कथाको अन्त्य एक दम घत लाग्दो रहेको छ !
Posted on 16 March 2010 10:59
२-३ दिन अघि देखि देखेथें यो टाँसो, अलिक लामोजस्तो लागेर फुर्सदमा पढ्छु भनेर छोडेथें । पढन थालेपछि थाहा भयो लामो हैन 'गहिरो' भने रहेछ । एक्कै सासमा पढि सकें ।
बरदनाथजीले भन्नुभएजस्तै मर्मस्पर्शी मात्रै हैन सजीव लागे कथाका पात्र र घटनाहरु ।
Posted on 18 March 2010 00:01
मर्मस्पर्शी , सजिव पात्र सहित सजिव रङ्मञ्चमको तितो यथार्थमा कथा वियोगान्तमा टुँगिएको छ । सधैं झैँ मन छुने .. धन्यवाद !
Posted on 19 March 2010 04:53
मर्मस्पर्शी , सजिव पात्र सहित सजिव रङ्मञ्चमको तितो यथार्थमा कथा वियोगान्तमा टुँगिएको छ । सधैं झैँ मन छुने .. धन्यवाद !
Posted on 19 March 2010 05:01
ओहो कस्तो मार्मीक। दिलिपजीले भने जस्तै भयो मलाई पनि। अलिक लामो लागेर समय निकालेर ठिलै आए। सजिव र यथार्थ कथा, मननै.... बारूदको खेती गर्ने जहाँ पनि र जो कोही पनि यस्तै हुन्छन् सायद।
अनि कृष्णजी यो कालो पृष्टभुमीमा सेता अक्षर अलिक पठ्नको लागि गाह्रौ भए जस्तो लाग्यो। टल्कने रहेछ सायद। मलाई मात्र होकी अरु साथिहरुलाई यस्तो भएको छ?
Posted on 27 March 2010 04:35
आविया नै हुन् कि कारक ? पोलको पुल ?
कथा निकै हृदयविदारक छ । एउटा मेलो बनाउन देश छोडेर हिँडेको युवकलाई जहाँ गए पनि सन्चो छैन । प्रवासको रोजगारी कति हदसम्म पैसाको बोट हो, कति हदसम्म फलामको च्युरा, यही कथाले पनि एउटा नमूना दिन्छ ।
स्केच पनि मन पर्यो ।
कथाहरू लेख्दै जानुहोला कृष्ण ।
Posted on 27 March 2010 21:40
सुन्दर कथा । प्रबासीहरुको आवाज ।
Posted on 3 April 2010 21:54
तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना ! सदा झैँ यो बर्ष पनि मेरो ब्लगमा तपाइंलाई स्वागत छ है!
Posted on 14 April 2010 07:00
बल्ल आज पढें मैले । माथी प्रतिक्रियाहरुमा भनिएझैं निक्कै मनछुने कथा रहेछ ।
Posted on 12 May 2010 18:38
Post a Comment