आफनै घरको आँगन जस्तो सडकै छेकेर टन्न टेबलभरि प्यालाका प्याला मदिरा सजाएका रसियन र रोमानी रेस्टुराँहरुमा नबुझिने सङ्गीत बज्न थालेका छन र त्यहि ताल पछ्याउदै झुमिरहेछ्न खैरा कपाल भएका किशोर किशोरीहरु । सडकभरि पोखिएको मदिराको बास्ना र संगीतको नशाले लपक्कै भिज्नुको विकल्प छैन, यी बाटो र गल्ली भएर गुज्रने हामी नेपालीहरुलाई ।
सधैको जस्तो शुक्रबार ... सेरुत र बसहरु यात्रु ओसार्न अलि बढी नै व्यस्त छन । आज कति धेरै हतार हुन्छ इजरायलमा, भोली सब्बात- साप्ताहिक विदाको दिन भएकोले । आजै राति देखि भोली दिनभर सरकारी कार्यालय सवारी पसल तथा कलकारखाना सबै बन्द हुन्छ यहाँ र त्यसैले शायद धेरै जसो विदेशी कामदारलाइ यही दिन छुट्टी दिईन्छ । सबै काम छिटो छिटो सकेर त्यसपछि चाहि सिन्को पनि नभाची इजरायलीहरु विदा मनाउन बसेको बेला यता अब हाम्रो साँझ शुरु हुन्छ , खुसि बोकेर आएको कुनै उत्सव जस्तो, इजरायलमा कार्यरत विदेशी कामदारको ।
पुरानो बसपार्क देखि नया बसपार्कतिर पसारिएको चाइनिज बजार आज अलि धेरै घुइचो छ । छुट्टीमा आएका हरुलाई रासन भर्ने ठेक्का जो छ यसको । तरकारी, पेय, माछा, मासु लगायतका खाद्य सामल मात्र हैन, पुरानो बसपार्कको कुनै कुना तिर डान्सबार या रातो प्रकाशकी किन्नरीहरु प्रेमकै विनिमय गर्न समेत उभिएका छन । लौ विदा भएकोले होला, बाटो भरि पसल राख्न होस् या सडकको बिचमै पासा खेलाउनेलाई समेत आजको साँझ पुलिसले देखे नदेखेको झैं गर्छ ।
शहरको मध्यभाग मा राजदाइको पसल अघिदेखि नै नेपालीहरुको चहल पहलले रंगिन थालिसकेको छ । चिउरा तरकारी, मम: चाउचाउ, अहा! यहाँ त साच्चिकै नेपालै जस्तो "फील" हुने, ठमेलको कुनै व्यस्त रेस्टुराँ या साइबर छिरे जस्तो आभास । फोन गर्ने कार्ड, ड्रिंक्स, स्न्याक्स देखि सबै थोक उपलब्ध हुने उनको साइबरमा अघिदेखि नै बसेकी छिन मैयाँ दिदी । बाहिर पोखिएको उज्यालो र भद्दा रंगसंग विल्कुल बेखबर .... ।
मैया दिदीको कम्प्युटरको झ्यालबाट चियाउदै छन उनका श्रीमान र छोराछोरी पालैपालो । भर्खर हो च्याट गर्न सिकेको, राम्ररी अझ आउदैन । जान्ने संग सोधी सोधी बस्छु । जानी नजानी कहिले किबोर्डमा औंला थिचेर त कहिले बोलेर आवाजमार्फत सप्पै माया खन्याउछिन् उनी । सबै भन्दा धेरै माया त उनका रसिला आँखाले नै पोख्छन ।
कहिलेकाही बर्षा यामको तप्तपी चुहिने बलेसी जस्ता परेला भएको बेला सानो छोरा भन्छ -धत् ममी ठुलो मान्छे भएर पनि रुने हो ?
राम्ररी चलाउन आउने भएपछी एउटा काखे "ल्यापटप" पनि किन्नु छ - उनले भनिन, हप्ता दिन सम्म पनि साह्रै न्यास्रो लाग्ने । यसरी हल्ली हल्ली कुरा गर्ने जिनिस आफै संग भए'सी ढुक्क ।
त्यसो त उनलाई कम्प्युटरको झ्यालबाट राजु परियार वा सिन्धु मल्लका लोक तथा दोहोरी भाकाहरु धित मर्ने गरि सुन्ने, मेरोसन्देश डट कममा कसले के के भनेछन हेर्ने अथवा आफु भन्दा आधा उमेरका केटाकेटीले झैं हाइ फाइभ या फेसबुकजस्ता नेटवर्किंग साइटमा प्रोफाइल बनाएर फोटो राख्ने, साथी बनाउने रहर पनि छ । सिक्दै गए कम्प्युटरबाट धेरै कुरा गर्न सकिने उनको मान्यता हो ।
मैया दिदी एउटी प्रतिनिधि पात्रा थिईन ।
इजरायलमा काम गर्ने धेरै दिदीबहिनीको सप्ताहान्त यसरी नै बित्छ । हामीमा कम्प्युटर कल्चर विकसित हुदै जानुंको कारण विदेशी संस्कृतिको नक्कल मात्र हो त? होइन, सुबिधा भएर मात्र हुन्छ ? न आफन्त न छर छिमेक यो बिरानो परदेश, त्यसमाथि नियास्रो र पट्यारलाग्दो कामको प्रकृति । नजान्नेले समेत सिकेर च्याटिंग कै लागि ल्यापटप किनेका छन, करिब २ हजार भन्दा बढीको हातमा ल्यापटप छ यतिखेर, कम्प्युटर बनाउदै आएका भाई ओम भन्छन । यसले एक्लोपन या विरानोपन घटाउन मद्दत गर्छ, शायद ।
पढ्ने लेख्ने वा सिक्ने भनेर कहाँ हो र ? खालि मन बुझाउने मेसो बनेको छ कम्प्युटर संस्कृति । साथी साथी कुरा गर्न पनि फोन महँगो पर्छ, फुर्सद मिलाएर च्याटमा आइज भन्यो कुरा गर्यो ।धेरै यसो भन्छन फामभिलमा नक्कली खेतबारी खनेर, हरियो परियो रोपेर, पाठापाठी हुर्काएरै भए'नि गाउँघरको तिर्सना मेट्नेहरु पनि धेरै छन । अथवा नचिनेकै मान्छेसँग रमाइला गफगाफ गर्यो, टाइम पास त हो, गज़बको बहाना बनेको छ ।
साँझको अध्यारो बढार्न ठड्याइएका विजुलीका खम्बाहरु टाउकाभरि बत्ति बालेर चम्किरहेका छन । जोसंग दोहोरी खेलिरहेछन पार्टीलाइट घुम्दा ढोकाको काप कापबाट फुत्त फुत्त बाहिर निस्कने चहकिला प्रकाशका रंगहरु । यो त सबैले देख्ने कुरा हो, तर मनको कुनामा छाएको अँध्यारो कसले देख्छ ?
झरी परेको होस् या चर्को घाम लागेको दिन या कुनै सुनशान र चकमन्न रात, घरको यादमा भक्कानिएर नरोएका कमै नेपाली चेलीहरु होलान यो बिरानो परदेशमा । घर फर्कदा सबै बन्दोबस्त मिल्ने गरि मनग्य पैसा कमाएर जाउँ भन्दै छुट्टीमा समेत नगई बसेका कति दिदी बहिनीहरु छन यहाँ, आँसु पिउंदै बसेका । क्षितिजतिर फर्किएर औंला भाँच्दै पर्खिएका लाला बाला र जहान सम्झिएर हरेक साँझ एक्लै रुने हजारौं चेलीहरुको पिडा इजरायलको प्रवासले लुकाएर बाँचेको छ ।
पराइ मुलुक बिझ्नुको दुखद यथार्थलाई कुनै बहानामा भुलेर हासोको अभिनय गर्ने कसरत कहाँ सजिलो हुदो रहेछ र? बस स्टेशनको गेटैमा इमिग्रेसन पुलिस प्रवेशाज्ञा जांच गरिरहेछ । काम छोडेकै दिनदेखि "पर्यटक" र त्यसको एकमहिना पुग्ने बित्तिकै "अवैध" भइने यो कष्टकर नियम बोकेको शहरमा भौतारिदै कति दिन देखि जागिर नपाएर एजेन्सी धाउदै फर्किएकी एउटी दिदी फोनमा भनिरहेको छिन - बाबा मेरो कुनै चिन्ता नलिनु है, मलाइ सबै राम्रो छ ।
हो सुखद भविष्र्यको चाहनामा अनन्त सपनाहरु सहित प्रवास अंगाल्न विवश भएका नारीहरुको त्यो पक्ष कति दर्दनाक छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । सधैं जस्तो क्यालेन्डरले तीज , दशैं वा तिहार पल्टाउदै जान्छ । यसरि चाडपर्व कुनै खुसि र उमंग विनै आउनु अनि पत्तै नपाइ सुटुक्क जानु कस्तो दुखद नियति । त्यसमाथि मानसिक प्रताडना र चारित्रिक लान्छना थपियो भने यो पिडा कति असह्य होला ?
नारीलाई संधै चुल्हो चौकाकै देवी मानेर पूजा गर्ने या घरको संघार नाघेर बाहिर पाइला राख्ने बित्तिकै असुरक्षित ठानेर शंल्कालु नजरले हेर्न पल्किएको यो समाज र यसका ठेकेदारहरुसंग धेरै गुनासो छ वैदेशिक रोजगारमा रहेका चेलीहरुको ।
यहानेर यो गुनासो वा तितो पोख्नुको कारण या सन्दर्भ नया पत्रिकामा छापिएको "यौन समस्याका साक्षी बस्दा" शिर्षकको लेखको हो । आफुलाई नारी पुरुष समान हौँ भनेर कहिलै नथाक्ने र ठुला ठुला रेडियो टिभी च्यानलहरुमा कार्यक्रम समेत चलाउने शिक्षित भनाउदाहरु समेत यस्तो संकुचित मानसिकताले ग्रसित छन भने गाउँका कुना कन्दरामा बस्ने अशिक्षितहरुको अवस्था कस्तो होला? लेखमा इजरायलमा कार्यरत नेपाली महिलाहरुको इज्जतमाथि प्रश्न चिन्ह लगाउन खोजिएको रहेछ ।
पहिलो कुरा मानव अधिकार र सामाजिक सुरक्षामा अत्यन्त संवेदनशील राष्ट्र हो इजरायल । यहाँ आफ्नो इच्छा बिरुद्ध कसैले छुन पनि पाउदैन । अधिकांश युरोपियन मुलुकभन्दा उच्चस्तरको हकहित सेवा सुबिधा तथा सामाजिक स्थिति भएको सभ्य देशमा काम गर्ने दिदीबहिनीलाइ "यौनदासी" जस्तो घृणित शब्द ओकलेर त्यस लेखका लेखकले हदै सम्मको वौद्धिक दरिद्रता वा लठैतपन प्रस्तुत गरेका छन ।
सामाजिक जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्ने यस्तो लेखले इजरायलमा काम गर्ने धेरै नेपालीको मन कुंडीएको मात्र छैन उनीहरु आक्रोशित पनि बनेका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले त यसको बिरोध र घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ति समेत निकालेको छ ।
प्रसंग उठ्ने बित्तिकै मैया दिदीको आक्रोश बढ्छ - नर्सिंग या केयरगिभिंग भनेको के हो, त्यसलाई कतिको थाहा छ ? नसोचि नबुझि मनगढ़न्ते कुरा लेख्न पाइन्छ ? यस्तो निम्न स्तरको दृष्टिकोण राखिएको लेखले वैदेशिक रोजगारीमा हुनु भएका सबै महिलाहरुले अपमानित महशुश गरेका छन ।
अरु पनि थपिन्छन, यो बिषयमा तपाईं सबैको भनाइ राखेर म एउटा लेख नै लेखुँला, सम्बन्धित ठाउँमा प्रतिक्रिया वा इमेल पठाएका पनि छौं अहिलेलाई यत्ति नै है त ?
कारण, यो एउटा साँझ धेरै थोक गर्नु छ । भोलि त फर्कनु छदैछ काममा, प्रवासबाट तपाइंको आवाज सुनाउन लागिपरेका भिडियो म्यागजिनका कार्यक्रम प्रस्तोताहरु भोलिको कार्यक्रमको तयारी गर्दै छन, उनीहरुलाई वेव साइटमा देखिने बनाउनु छ । दराजभरि प्रवासमा बस्नेहरुका भावना गुटुमुटु पारेर अनेसास इजरायलको पत्रिका मेरोनेपाल प्रकाशनको अन्तिम तयारी कुरेर बसेको छ, डिजाइनिंग / सेटिंग अझै सकिएको छैन ।
बाहिर सडकको हल्ला र संगीतको झंकार अनि रंगिला प्रकाशहरू रातको अँध्यारो धोइरहेछ्न सुस्तरी . टेबलमा अघिदेखि मुस्काइरहेको एस्ट्रे चुरोटको ठुटाले भरिई सकेको छ । ल अब यो अन्तिम खिल्ली, आफैलाई सम्झाउछु र लामो सर्को तान्छु ।
ल्यापटपमा फेरी कुनै दुखि परदेशीको कथा सुनाउन बसेका छन, अविनाश घिसिंग र रामचन्द्र काफ्ले । परदेशीको मनै छुने भाका हालेर उनीहरु गाइ रहेछन ...
सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको ~~

मेरो ब्लगमा नयाँ पोष्टहरू








कृष्णजी लेखको लागी धेरै धन्यवाद । अबल प्रस्तुती !
Posted on 16 May 2010 14:24
सायद हामी पत्रिका पढ्नेहरु पनि गलत छौँ, किनकी हामी तपाईहरु कै आवाज सुनिरहेका छैनौँ । तर शोषण का घटनाहरु पनि घटिरहेकाछन्, अपवाद भन्ने त के मा छैन र ?
एउटा विदा को दिन, एउटा अनुभव, राजदाइ को पसल, मैँया दिदी, उनको ल्यापटप सपना, इजरायल अनुभव गर्न सायद काफि नै छ होला !
कम्प्युटर कल्चर त पक्कै पनि बढ्दै गएको छ, यसलाई सकरात्मक कुरा मा लगाउने हो भने, हामी सारा नेपालीलाई फाइदा छ !
एउटा रमाइलो वर्णन को लागि धेरै धेरै धन्यवाद छ, कृष्ण जी !
Posted on 16 May 2010 19:25
कथा जस्तो यथार्थ भनौं वा यथार्थ जस्तै कथा, जे भने पनि यो टाँसो एकदमै रोचक लाग्यो मलाई ।
अनि तपाईको पोस्टमा भएको 'संकुचित मानसिकता' को कुरा गर्दा भने शिक्षीत हुनु र संकुचित हुनु एक अर्काका विपरित हुँदै होईनन त्यसैले शिक्षीत हुँदैमा संकुचित हुँदैनन् भन्ने सोच राख्नु सायद गलत हुन्छ ।
समष्टिमा लेख इकदमै चित्त बुझ्ने लाग्यो ।
Posted on 17 May 2010 07:42
अत्यन्तै मनछुने लेख । साँच्चै कुनै कथा नै पढिरहेझैं लाग्ने प्रस्तुति । दिलीपजीले भन्नुभएझैं कथाजस्तै यथार्थ । त्यसैपनि देशभित्रै अनेक लाञ्छना सहनुपर्ने अवस्था छ मैंयादिदीहरुको देशबाहिर पुगेपछि यदाकदा आलोचना त सहनैपर्छ अझै पछिसम्म नै भन्ने पनि लाग्छ मलाई चैं । भन्छन् नि बोल्नेको मुख कस्ले थुन्नसक्छ र? बस्तुस्थिती नबिचारी जथाभावी बोल्नेहरुको बिगबिगी जो छ ।
Posted on 17 May 2010 19:59
धेरै पछी कृष्ण जी को तिखो कलममा उनिने मौका पाए। यथार्तको पोको फुकाउदै अब्बल भावमा कोरिए शब्दहरु । धन्यबाद
Posted on 19 May 2010 06:43
कृष्ण जी साच्ची यो कम्पुटरले - हामि जस्ता आफन्त देखि टाढा रहेर बस्नु पर्ने पर्देशिहरुलाई एक्लोपन या विरानोपन घटाउन मद्दत गरेकै छ !
- "कति दिन देखि जागिर नपाएर एजेन्सी धाउदै फर्किएकी एउटी दिदी फोनमा भनिरहेको छिन - बाबा मेरो कुनै चिन्ता नलिनु है, मलाइ सबै राम्रो छ ।" -निकै घत लाग्दो कस्तो यो हाम्रो बाध्यता !
अनि -आफुलाई नारी पुरुष समान हौँ भनेर कहिलै नथाक्नेहरुको संकुचित मानसिकताले ग्रसित छन भने गाउँका कुना कन्दरामा बस्ने अशिक्षितहरुको अवस्था कस्तो होला ?
सायदै .... एउटा रहर अनि धेरै समस्या संग जुध्नको लागि उठेको कदम यो परदेश को जिन्दगि ......
"सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको"
Posted on 19 May 2010 14:07
एकदम मन छुने लेख! यसरी प्रवासका पिडा र सपना उनिएका लेखहरुले अझ धेरै पाठकहरुसम्म पुग्न पाउनुपर्छ, अनि छरिएका भ्रमहरु र हल्लाहरु आफैं नाकाम हुनेछन्।
तपाईँको कलम यसरीनै निर्भीक र संवेदनशील भएर चलिरहोस्।
Posted on 19 May 2010 22:26
मन छुने लेख । संवेदनशील विषय उठान गर्नुभएको रहेछ । इजरायलमा बस्ने नेपाली प्रवासीहरुको बारेमा सहि जानकारी पाएर राम्रो लाग्यो ।
Posted on 22 May 2010 00:05
कटक्क मन काट्ने लेख | हामीले कहिलेसम्म यस्तो नियति भोग्नुपर्ने होला? रहर एकातिर , बाध्यताले बगाउने अन्तैतिर | पीडाको भारीमा सम्झनाको फूल टाँसेर, कहाँ पुगौंला यसरी ?
Posted on 23 May 2010 02:50
सुनको बाला लाउने धोको
फुकाउनु छ ऋणको पोको ~~ !
परदेशीलाई पिरै त्यसकै हुंदोरहेछ, कृष्णजी । मन छुने लेख ।
Posted on 26 May 2010 13:11
मन छुने लेख। कथा हो वा अकथा हो निकै हम्मे पर्यौ मलाई । तर निकै सुन्दर।
यो कालो ब्याकग्राउन्डमा सेतो अक्षर मलाई मात्र पढ्न गाह्रो भएको कि अरु साथीहरुलाइ पनि यस्तै हुन्छ? कता कता आखा अल्मलिने जस्तो लाग्यो।
Posted on 7 June 2010 11:04
Post a Comment