शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।

हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।

फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?

तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।

सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?

मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।

आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।

होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?

किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?

साभार केहि दिन अगाडिको फेसबुक नोट

2 ~
  1. Chaitanya Said,

    बडो मार्मिक कुरा लेख्नुभयो कृष्णजी | हाम्रो सम्बेदना पातलिंदै गएको गहिरो प्रमाण | देशको रुपमा हाम्रो देशको गुणस्तर घट्दै गएको प्रमाण |

    Posted on 9 July 2010 05:47

     
  2. विवशता, समस्या वा अप्ठेरो स्थिति नभएको हैन्, तर तपाईँले लेखेजस्तै "बाच्ने आधारभूत आवश्यकता नै निभेको भने पक्कै छैन्"

    अहिलेकोलागि आशावादी हुने कुनै प्रकाश नदेखिएपनि कामना गरौं नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य चाँडै आओस !

    मन छुने आलेख ।

    Posted on 10 July 2010 19:09

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था