साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन् सक्छ। आउदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जुन जस्तो देखिन्थ्यो त्यो अनुहार ।
कहिलेकाही नारायणगोपालको पुरानो गीत बजिरहेको पनि सुनिन्थ्यो - एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा ....।
पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसंग म निकै घुलमिल भएझैं या त्यो अनुहारसंग म धेरै पहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाती रह्यो ।
अर्को पटक सुपर मार्केटमा फेरी उसै गरि भेट भयो, मैले बोलाए
"एक्सक्युज मि यहाँको शुभनाम ?"
"साधना.. साधना शर्मा । किन र महाशय ?"
हेर्दै नहेरी प्रश्न र जवाफ एकैपटक फर्काइन् ।
हैन त्यतिकै म अलि रातो भएँ, अल्लारे केटाकेटी जस्तो कुनै अपरिचितको पिछा गरेझैं भान भयो आफुलाई । विषय खोतल्दै मैले भनेँ - " हैन मेरी एउटी मित्र थिईन, कलेजकी सहपाठी .. उनको अनुहार दुरुस्त तपाईं संग मिल्ने भएर सोधेको । हाम्रो भेट नभएको पनि बर्षौं भयो ।
शायद उनलाई यो बहाना जस्तो लाग्यो कि, प्रसंग अगाडी बढेन । त्यसपछि पनि परिचयको कुनै उत्सुकता देखाइनन उनले । घर फर्के पछि लाग्यो, संसारमा धेरै अनुहारहरु मिल्दा जुल्दा हुँदा रहेछन ।
त्यसपछिको अर्को भेट ।
"अनि उहाँको नाम चाहि के थियो त ? " मेरो हराएको साथीको बारेमा उनी आफैले जिज्ञासा राखिन ।
"साधनाजी, उनको कथा अलि अनौठो छ.. म भन्दै गएँ ।"
नाम श्वेता अधिकारी, श्वेताको सम्झना हुनासाथ म एकपटक पुराना याद्हरुको भिडमा हराउछु ।
घन्टाघरको टिंग टिंग आवाज, पारिलो घाम र मुंगफली बदाम । त्रि चन्द्र क्याम्पसमा पढ्दाका ती दिनहरु हुने गर्थे, भित्र कक्षा चलिरहेको हुन्थ्यो । बाहिर हामी गफिइरहेका हुन्थ्यौं । अमृता लोकेन्द्र, बिरेन श्वेता र म ..। कहिलेकाही अरु पनि थपिन्थे तर हामी चाहि प्राय संगै हुन्थ्यौं । कहिले त दिनभर एउटै पनि कक्षामा शामिल नभईकन बितेका उदाहरण कति थिए कति हामीसंग ।
"यो समाज के हो ? समाजको डर वा समाजले उठाउने औंला भनेको कस्तो हुन्छ ? यसले कोर्ने परिधिको आकार कत्रो हो ? " एकदिन कुरै कुरामा श्वेताले भनी ।
" ल श्वेताले के उपद्रो गर्न आँटी है केटा हो, अमृतले प्वाक्क थप्यो -भने पछि चाला माला ठिक छैन ।" सबै हाँसे ।
"तल्लो जात या अमिल्दो खानदानको मान्छेसंग भाग्न खोज्यौ कि कसो ? तर ती त अब सामान्य भैसके है श्वेता । यस्ता बिषयहरुमा त हाम्रो समय र समाज आफै रुपान्तरण हुने अभ्यासमा छ । " बिरेन अलि गम्भीर थियो हाम्रो समुहमा ।
"त्यस्तो केही हैन, बिहे नै गर्नु पर्ने, नारीले जन्मिएको घर भन्ने कुरा छाडेरै जानु पर्ने या नया घर बसाउनै पर्ने, म त यो नियमको बारेमा पो सोचिरहेकी छु । कहिले देखि र कसले बनायो होला है यो नियम ?" लाग्यो, आज श्वेता धेरै कुरा भन्न गैरहेकी छ ।
"कसरी बदल्छ्यौ? बिहे नगरी बस्छ्यौ? त्यो पनि पाइन्छ तर तिमीले भनेजस्तो चेन्ज सेन्ज चाहि केही पनि हुदैन है ।" अर्काले थप्यो, "तर अबको पाँच बर्षमा श्वेताले बिहे गरिनन भने मलाइ भन्नु, म बाजी राख्छु ।"
"पाँच बर्षको कुरा छोडी देउ, मैले त आजीवन बिहे नै नगरी बस्ने निर्णय गरेकी छु, " । अलि अलि उक्साउनु मात्र पर्थ्यो, भए नभएको कुरा गर्न थाल्थी ऊ । आज अलि धेरै नै हाउडे भई । " रह्यो घरजमको कुरा, मलाइ छोरा छोरी जन्माउन, एक्लै घर बसाउन कसले रोकेको हुन्छ ? ल केटा हो बाजी राख, म यो पनि गरेर देखाइदिन्छु, बिहे नगरी ।" फेरी एकपटक सबै हलल्ल हाँसे ।
ल यो चाहि अति नै भयो, यस्तो भयो भने मेरो घरबार सबै श्वेतालाइ ... मैले पनि बाजी राखेँ ।
पश्चिमा समाज र संस्कृतिले यसलाइ स्वीकार गरेको होला या यी कुराहरू सामान्य होलान, तर बिना पुरूष कुनै स्त्री आमा हुने बाटो हिड्न हाम्रो समाजमा सजिलो छैन । या त उसले जीवनभर कलंकित भएरै जिउनु पर्छ या त जीन्दगीको यात्रा नै टुङ्ग्याउनु पर्छ ।
अब त यी सम्वादका सम्झनाहरू पनि धमिराले धुलो पारेको पुस्तक जस्तै निकै पुराना भइसके। थाहै नपाइ समयले धेरै घुम्ती र जंघारहूरू पार गराइसकेको छ, फर्केर हेर्दा कहाँबाट आएको हुँ, आफै हिडेर आएका ति गोरेटाहरू नै नदेखिने गरी । यो पराइ मुलुकमा गैर आवासीय नेपालीको रूपमा आफुलाइ उभ्याएको पनि लगभग लगभग दुइ दशक र केही बर्षहूरू नाघिसकेको छ ।
साधनाजी श्वेताका यी प्रसंगहरू चुपचाप सुनिरहनु भएको थियो, उत्सुक हुँदै सोध्नुभयो, अनि त्यसपछि के भयो? कहाँ कसरी छुटिनु भयो त ?
समयक्रममा श्वेतासँग मेरो सामिप्यता बढ्दै गयो । बारम्बार हामी एक अर्काको घर जान्थ्यैाँ । सिनेमा होस, नाटक या संगीतका हरेक अनुभवहरूमा एउटा छायाँजस्तो यदि कसैको साथ मसँग हुन्थ्यो भने त्यो श्वेताको हुन्थ्यो, मेरो वरिपरि हरदम घुमिरहेको । कतिपटक केही कुरा भन्न चाहन्थेँ तर आवाज कतै अवरूद्ध भएझैँ लाग्थ्यो, यस्तो बेला केही नबोली धण्टैाँ रानीपोखरीको किनारमा नजर बिसाउनु वा अगम्य क्षितिजतिर टोलाउनु हाम्रो दिनचर्या हुन्थ्यो ।
त्यति नजीक भएर या दिनभर सँगै रहेर पनि अभिव्यक्त गर्न बाँकी कति कुराहरू हुन्थे मसँग । फर्केपछि जब उसलाइ फोन गर्थेँ तर उसको आवाज सुनेपछि म निशब्द रहन्थेँ, त्यसपछि दुवैतिर कोही केही बोल्दैनथ्यो, एउटा अनाैठो मैानता छाउँथ्यो ।
......
अब त हाम्रो मनको सामिप्यता यति धेरै बढिसकेको थियो कि, तिमीलाइ मन पराउछु, भन्नु टाढा भएको हुनु जस्तो लाग्न थालेको थियो । अर्थात त्यो अभिव्यक्त गर्नुपर्ने दुरी या सिमानाहरू सबै आफसे आफ भत्किसकेका थिए । हामी एक अर्कामा हराइसकेका थियैाँ।
कति विहानहरू त म आफुलाइ श्वेताको न्यानो अङ्गालोमा बाँधिएको पाउथेँ । झ्यालमाथि सूर्य मुस्काइरहेको हुन्थ्यो ।
......
कथा लेख्ने र मेट्ने आखिर समय नै रहेछ। समयले नै हामीलाइ आ आफनो जीन्दगी जिउन सिकायो । कसरी टाढा भयैाँ, भन्न सक्तिन तर सम्पर्क टुटेपछिका धेरै समय उसको खोजीमा बिताएको छु तर त्यो खोजी जति तीव्र हुनुपर्थ्यो कार्यव्यस्तता या अन्य कारणले हुन सकेन होला, र त्यसमा आजसम्म पनि म आफुलाइ दोषी पाउँछु। म अरू कसैको भएँ, उनी पनि अरू कसैकी भइन होला ।
श्वेताको अतितलाइ, उनको छाँया वा माया सबैलाइ अरू कसैमा अनुवाद गरेर जिउन अभ्यस्त हुदै गएँ, यसरी जिउने धेरै हुन्छन संसारमा, मन बुझाउथेँ ।
इन्द्रेणीको आकार जस्तै श्वेता मेरो जीवनमा उदाइन र अस्ताइन । श्वेता नामको इन्द्रेणी मेरो जीवनबाट अलप भएको पनि आज बर्षैाँ भइसकेको छ, समय कति छिटो बित्दोरहेछ । तर साधनाजीको अनुहार, कपाल, आँखा सबै सबैले मलाइ श्वेताको सून्दर यादहरूको चित्र कोर्न सघाइरहेका छन यतिखेर । श्वेता र साधनामा एउटै फरक थियो, साधनाजीको गम्भीरता। श्वेता धेरै चञ्चल थिइन्।
....
भर्खरै छोरो पेरिसबाट घर फर्किएको छ, एउटा पर्दर्शनी थियो उसको । चित्रकारितामा असाध्यै दिलचस्पी राख्छ उ। घरभरि उसले कोरेका पेन्टिङ्हूरू टाँगिएका छन । आज उसले कोरेको एउटा पोट्रेटमा टक्क अडिन्छु म । हावामा उडिरहेको कपाल, नीलो आँखा, धेरै कुरा भन्न खोजिरहेझैँ चञ्चल अनुहार .... दुरूस्त श्वेता । २५ बर्ष अगाडीकी मेरी सहपाठी । कसरी उतार्यो उसले मेरो छातिभित्र बर्षैाँ दबिएर बसेको सपनाजस्तो त्यो आकृति ? कहाँबाट भेट्यो उसले श्वेताको तस्वीर ?
"बाबा, यो त सिमाको तस्वीर हो, राम्रो चित्रकार हुनुहुन्छ । हाम्रो आर्ट स्कूलमा एउटा क्लास उहाँको पनि छ । आज उहाँकै पोट्रेट बनाउने मुड चल्यो " छोरो भन्दै थियो ।
कुनै कलाकारले कसैको मुहारको चित्र उतार्नु कुन ठुलो कुरा थियो? तर अनुहार कस्तो श्वेतासँग मिलेको ? श्वेता, साधना, सिमा, आ... संसारमा कति अनुहार मिल्दा जुल्दा हुन्छन तिनको के हिसाबकिताब ?
धेरैदिन पछि आज अचानक साधनाजीसँग भेट भयो, कुराको क्रममा सोधेँ, अँ साच्ची यहाँको परिवारका बिषयमा त सोध्नै बिर्सेको को को हुनुहुन्छ तपाइहरू ?
" एउटी छोरी छे, सिमा, चित्रकारिता गर्छे ।"
"सिमा ? " मेरो आँखाभरि त्यो पोट्रेट झल्झली नाच्न थाल्यो, कुतुहलता र छटपटीको चिरचिरे कमिला शरीरभरि कुदे्झैँ महशुस भयो ।
अनि तपाइको श्रीमान ?
......
......
केही नबोली साधनाजी मतिर फर्किएर मुस्काइरहनु मात्र भयो ।
आँखा उस्तै नीला थिए ,
कपाल हावामा तैरिइरहेको थियो,
र मैले पहिले कहिल्यै पढ्न नसकेका अक्षरहूरू आज अनुहारमा स्पष्ट कोरिएका थिए ।
म पढ्दै गएँ ,
"यही प्रश्न धेरैले सोधेपछि त म यहाँ बसाइ आउनु परेको हो, आफनो नाम र परीचय सबै बदलेर । एक्लै जिउनु त कहाँ सजिलो हुँदोरहेछ र भनेजस्तो .....? तर यतिका बर्षसम्म त म यो राज लुकाएरै बाँचिरहेकी छु भने आज अर्कैको भइसकेका तिमीलाइ कसरी भनुँ मेरो श्रीमान तिमी नै हो भनेर ...... जीवनमा हारेँ या जितेँ थाहा छैन यद्यपी मैले क्याम्पस पढ्दाको त्यो बाजीचाहि जितेको छु.. देख्यैा त ?"
मेरो ब्लगमा नयाँ पोष्टहरू








sundar katha prastut garnu bhayakoma dhanyabaad.
Posted on 17 December 2010 04:04
thank you so much prabin jee..
Posted on 17 December 2010 06:57
swata sanga mel khayo mero bhabana haru pani really malai pani tyastai man parchha
Posted on 17 December 2010 10:36
कथाको प्रस्तुति अनि पात्रहरुको आगमन संगै देखिएको कौतुहलता पुर्ण जिज्ञासामा भरपुर मिठास भरिएको मार्मिक कथा । कृष्ण जी को तिखो कलम यसरी नै अगाडी बढिरहोस सधै-सधै ।
Posted on 23 December 2010 00:53
Post a Comment